दोधारा चाँदनी । सुनसरीका शिव अनुज कौडाल एक महिना अघि राम्रो रोजगारीको आशमा भारतको काशीपुर पुगेका थिए । राम्रो रोजगारी पाइने आशमा त्यहाँ पुगेका उनी काम गर्नुको सट्टा बन्धक भए । सुरुआतमा काम गर्नुपूर्व दश दिनको प्रशिक्षण लिनुपर्ने भन्दै कौडालबाट ४० हजार मागियो ।
प्रशिक्षणको नाममा कोठाभित्रै थुनियो । कतैजान दिइएन । “आफन्त साथीभाइहरुले नै राम्रो काम पाइन्छ भनेर भनेपछि त्यहाँ पुगेको थिए, त्यहाँ पुगेपछि काम गर्नुको साटो अन्य व्यक्तिलाई फसाउन प्रयोग गरियो”, भारतबाट उद्धार गरिएपछि महेन्द्रनगर आइपुगेका कौडालले भने ।
“हामीलाई बन्धक बनाइयो ,उनीहरुको भनेको नमाने कुटाइ खानु पथ्र्यो । हाम्रो मोबाइल फोन प्रयोग गरेर उनीहरुले अन्य नेपालीलाई पनि फसाउने काम गर्थे ।” आफु जस्तै रोजगारीका लागि भारत पुगेका अन्य नेपाली अझै बन्धक रहेका उनले सुनाए ।
आफ्नै काकाले राम्रो रोजगारीको आश देखाएपछि भारतको काशीपुर पुगेका इलामको माई नगरपालिका–८ का सौगातलाई पनि बन्धक बनाइयो । “काकाको सहयोगमा भारत पुगेको थिए, त्यहाँ पुगेपछि मलाई काकालाई भेट्न दिइएन,” उनले भने ।
काम गर्नुभन्दा पहिला दश दिन प्रशिक्षण लिनुपर्ने भन्दै ५० हजार रकम असुलेको उनले बताए । “कहिँ कतै जान दिइएन, मेरो फोन पनि उनीहरुले नै जफत गरे,” उनले भने ।
केही महिनाअघि ताप्लेजुङका सोम लिम्बुको मृत्युपछि आकर्षक रोजगारीको प्रलोभनमा भारत पुगेका नेपाली युवाहरु त्यहाँ बन्दक भएको घटना बाहिर आएको थियो । त्यसपछि नेपाली दूतावास, भारतीय प्रहरीलगायतको पहलमा नौँ नौबालकसहित ५७ जनाको उद्दार गरिएको हो ।
यसरी आकर्षक रोजगारीको प्रलोभनमा भारतमा बोलाइ बन्धक बनाइएका विभिन्न जिल्लाका ५७ नेपालीको उद्धार गरी नेपाल ल्याइएको थियो । भारतबाट उद्धार गरिएकामा चितवनका दश जना, कैलालीका नौ, सुनसरीका पाँच तथा उदयपुर, तेह्रथुमका र पाँचथरका चार/चार, दाङ, स्याङजा र बाँकेका तीन/तीन तथा ताप्लेजुङ, डोटी र धादिङका दुई/दुई जना तथा सर्लाही, कास्की, रुकुम, बागलुङ, इलाम र रुपन्देहीका एक/एक जना रहेका छन् ।
भारतबाट उद्धार गरी बुधबार कञ्चनपुर ल्याइएका सबैलाई आ–आफ्नो घर पठाइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । उद्धार गरिएकालाई बुधबार कञ्चनपुरको गड्डाचौकी नाका हुदै यहाँ ल्याइएको थियो ।























