काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् बृक्षारोपण कार्यक्रम गरेको छ ।
बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरुमा बृक्षारोपण कार्यक्रम गरेको हो ।
यसै अवसरमा बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, लम्कीचुहाँ नगरपालिकाको बालचौरमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा १,००० कागतीका विरुवा रोपण गरेको हो ।
उक्त कार्यक्रममा जनप्रतिनिधिहरु, स्थानीय नागरिक लगायत बैंकका कर्मचारीहरुको ठूलो उपस्थिति रहेको थियो ।
त्यसैगरी, बैंकले काठमाडौँको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा बैंकका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थितिमा ३०० वटा विरुवा रोपण गरेको हो ।





































