चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त व्यक्तिलाई वर्तमान सरकारले ऊर्जामन्त्री बनाएको भन्दै आक्रोश पोखेका छन् ।
शनिवार चितवनमा आयोजित जनतासँग माओवादी तराई(मधेस जागरण अभियान कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले उर्जामन्त्री दीपक खड्काको कार्यशैलीसँग जोड्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरे।
‘स्वास्थ्यमन्त्री स्वास्थ्यसम्बन्धी ज्ञान भएको मान्छेलाई बनाउनुपर्यो। शिक्षामन्त्री शिक्षासम्बन्धी राम्रो ज्ञान भएको मान्छेलाई बनाउन पाउनुपर्यो,’ उनले भने ‘अहिले भएको के छ ? मन्त्रीका अनुहारहरू हेर्नुभयो भने, जो सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ। अझै लुट भनेर।’
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारीमा हाल नेपाली कांग्रेसका नेता खड्का रहेका छन्। खड्का मन्त्री भएदेखि नै उनी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन सक्रिय छन्। आफ्नो प्रधानमन्त्रीकालमा नियुक्त कुलमानको पक्षमा माओवादी सदनदेखि सडकसम्म सक्रिय छ।
उनै प्रचण्डले शनिवार सार्वजनिक कार्यक्रममा खड्काको आलोचना गरे। उनले वर्तमान सरकारले राम्रो काम गर्नेलाई भने ‘कोपर्ने’ र ‘चिथोर्ने’ काम गरेको आरोप लगाए। उनले यसलाई लगेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थासँग लगेर जोडे।
‘यदि प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपति भयो भने, विज्ञहरूलाई मन्त्री बनाउने भयो भने विश्वविद्यालयका प्राध्यापकहरू मन्त्री हुन थाल्छन्। अनि मात्रै देशमा स्थिरता हुन्छ, विकास हुन्छ, भ्रष्टाचार रोकिन्छ,’ उनले भने।