काठमाडौं । मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रचारमा अहिले नेताहरु व्यस्त छन् । उसो त आज बिहीबार मध्यराति १२ बजेदेखि स्थिर समय लागू हुने निर्वाचन आयोगले बताइसकेको छ ।
मत माग्न नेताहरु आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त छन् । ती मध्ये एक हुन् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल ।
पौडेल अहिले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेवदार बनेका छन् । उनीसँग नेकपा एमालेकी मञ्जु शर्मा चालिसे प्रतिस्पर्धामा छिन् । प्रतिस्पर्धी पौडेलले गत चुनाव र स्थानीय तहको चुनावको मतभार हेर्दा १५ हजार भन्दा बढी मतान्तरले बिजयी हुने दाबी गरेका छन् ।
को हुन् देवेन्द्र पौडेल ?
देवेन्द्र पौडेल, बौद्धिक, भद्र एवम् शालिन नेताको रुपमा परिचित छन् । उनी हाल नेकपा माओवादी केन्द्रको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री छन् । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरमा विस। २०२१ मा उनको जन्म भएको हो । पञ्चायतकालमा तीन वर्ष र जनयुद्धका क्रममा १० वर्ष भूमिगत भएका पौडेलको राजनीतिसँगै साहित्यमा पनि रुची छ ।
अखिल छैठौंबाट विद्यार्थी राजनीतिक सुरु गरेका उनले संगठनको कोषाध्यक्ष, महासचिव, हुँदै अध्यक्षसम्मको पदभार सम्हालेका थिए। २०३७ सालबाट राजनीतिक सक्रिय उनी पार्टीको धौलागिरि, उपत्यका, लुम्बिनी र मधेश इन्चार्ज भएर जिम्मेवारी कुशलतापूर्व निर्वाह गरिसकेका छन् ।हाल नेकपा माओवादीको केन्द्रीय सचिव भएका पौडेल नेकपा एमाले र माओवादीको एकतापछि स्थायी समिति सदस्य भए।
२०५७ मा माओवादीको केन्द्रीय सदस्य, २०६२ सालमा पोलिटव्यूरो सदस्य हुँदै २०७५ सालमा नेकपाको स्थायी समिति सदस्य भए। माओवादी जनयुद्धमा शुरुवाती चरणदेखि सहभागी भएका उनी २०४२ देखि २०४४ सम्म करिब १८ महिना धनगढीमा कारावास जीवन बिताए । यस्तै ६ महिना सदरखोर थुनामा समेत परेका थिए ।
राजनीतिक शास्त्रमा स्नाकोत्तर गरेका उनी २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकारको रुपमा आफ्नो कुशलता देखाइसकेका छन् ।
नेता पौडेल हालसम्म भारत, चीन, बंगलादेश, अमेरिका, दुबईलगायत दर्जनबढी देशमा भ्रमण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकार छन् । पार्टीमा स्कुल विभागको उपप्रमुखको जिम्मेवारी पाएका उनी हाल शहरी विकासको जिम्मेवारीमा पनि छन् ।
उनले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको गत असोज २२ गते एक वर्ष पूरा भएको छ । यो अवधिमा शिक्षा क्षेत्रमा सुधारका प्रयासहरु भएका छन् । संघीय शिक्षा ऐन, विद्यालय कर्मचारीको तलब बृद्धि, शिक्षकको आन्तिरिक बढुवा, स्थायी शिक्षकको परीक्षा, शिक्षक अस्पताल, विद्यालयका भौतिक पूर्वाधार निर्माणलगायतका सार्वजनिक सुधारका काम भएका छन् ।
उनले राजनीतिक जीवन र यात्रामा थुप्रै वैचारिक र सैद्धान्तिक लेख तथा कृतिहरुको रचना समेत गरेका छन् । उनले नेपालमा वर्गसंघर्ष र वर्गहरुको विश्लेषण, राजतन्त्र र प्रजातन्त्रबारे, नेपालमा किसान समस्या, राजाको संविधान सुझाव आयोग वा जनताको संविधानसभाको निर्वाचन, बौद्धिक समुदायको सिंहावलोकनलगायतका पुस्तक तथा बुकलेटहरु प्रकाशनमा ल्याएका छन् ।
बिहीबार गलकोट नगरपालिकामा आायोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो आन्दोलन र बलिदानीबाट प्राप्त भएको उपलब्धीको रक्षाका लागि बाम लोकतान्त्रिक शक्ति एक ठाउँमा भएको बताएका छन् ।
जनताका समस्यासँग आफू परिचित भएकोले त्यसको समाधानका लागि मत दिएर आफूलाई विजयी गराउन उनले अनुरोध गरेका छन् ।
































