बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङकै नागरिकलाई पाहुना भनेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेका छन् ।
बुधबार तमानखोला गाउँपालिकामा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले ओलीलाई लक्षित गर्दै नागरिकमा भ्रम छर्नका लागि आफूलाई पाहुना भनेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
‘म यही जिल्लाको माटोमा जन्मिएर यही ठाउँको विकाशका लागि ज्यान दिएर लागेको मान्छे हुँ । झापाका ओलीले पाहुना भन्नु एमालेको हारको मानसिकता हो’ उनले भने ।
केही दिन अघि नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्न बुर्तिबाङ आएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेललाई पाहुनाको संज्ञा दिएका थिए ।
पौडेलले बागलुङका ६ वटै सिट गठबन्धनले जित्ने दाबी गरे । ‘बागलुङका ८५ वडाहरुमध्ये गठबन्धनले ७० वडाहरुमा जित हासिल गरेको छ’, उनले भने, ‘यही आँकडाले पनि गठबन्धनको जित भइसक्यो, औपचारिकताका लागि आम नागरिकले निर्वाचन मिति पर्खनुपरेको हो ।’
उनले आगामी निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्ने बताएका छन् । समावेशी समानुपातिक पहुँच र प्रतिनिधित्व प्रणाली ल्याउन शहिदहरुको बलिदान रहेको बताउँदै यसको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताए ।
उनले अहिलेको गठबन्धन इतिहासको आवश्यकता भएको बताउँदै गठबन्धन रहरमा नभई इतिहासको आवश्यकता भएको बताए ।
कार्यक्रममा संविधान सभा सदस्य निरज पुनले बागलुङ क्षेत्र नम्बर २ का उम्मेदवार देवेन्द्र पौडेल र एमाले उम्मेदवारबीच तुलना हुन नसक्ने टिप्पणी गरे । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जिते मात्र संविधान रक्षाका र बागलुङ विकाश हुने बताउँदै विपक्षी उम्मेदवारसँग तुलना हुनै नसकिने ठोकुवा गरे ।
कार्यक्रममा प्रदेशसभा ‘ख’ का साझा उम्मेदवार दोर्ण कुँवरले बागलुङको विकाशका लागि गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउनुपर्ने बताए ।






































