काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई पुनः ४ वर्षका लागि सिइओको जिम्मेवारी दिएको हो ।
बैठकले शेरचनलाई पुनः सिइओ बनाएको बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले बताए । उनी २०७५ माघ १८ गते बैंकको सिइओ नियुक्त भएका थिए ।
२ साताअघि सेञ्चुरी कमर्शियल बैंकलाई आफूमा समाहित गरेपछि अशोक तेस्रो कार्यकालका लागि सिइओ बनेका हुन । अशोकको नेतृत्वमा समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नति भएको हो । शेरचनको व्यवस्थापकीय नेतृत्वमा बिग्रिएका बैंकहरुलाई लिएर प्रभु बैंकलाई प्रतिस्पर्धी र सबल बनाउन सफल भएका छन् ।
शेरचन तत्कालिन प्रभु विकास बैंकका सिइओ थिए । उनी प्रभु बैंकको सिइओ बन्दा समस्याग्रस्त किस्ट र ग्रान्ड बैंकलाई समाहित गरेपछि प्रभुको खराव कर्जा अधिक थियो । उनको कार्यकालमा खराब कर्जाको असुलीमा उल्लेख्य प्रगति भएको थियो । किष्ट बैंक गाभिएर प्रभु बैंक भएपछि दोस्रो वरियतामा रहेका उनी तत्कालिन सिइओ कुमार लम्सालले राजीनामा दिएपछि सीईओमा नियुक्त भएका थिए ।
सेञ्चुरीलाई आफूमा समाहित गरेपछि प्रभु झनै ठूलो वाणिज्य बैंक भएको छ । मर्जपछि चालू आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ । यस्तै रिजर्भको आकार बढेर ९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको निक्षेप परिचालन बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।



































