काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
क्यानडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा भएको राउन्ड अफ १६ को अन्तिम खेलमा स्विट्जरल्यान्ड ४(३ ले विजयी भएको हो।
यो जितसँगै स्विट्जरल्यान्ड ७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टी सुटआउटमा कोलम्बियाका दुई खेलाडीले आफ्नो प्रहार मिस गरे। पेनाल्टीमा कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले मात्रै गोल गरे। डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टीमा गोल गर्न सकेनन्।
स्विट्जरल्यान्डका भने ४ खेलाडीले गोल गरे। ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासको गोलमा स्विट्जरल्यान्डले अगाडिको यात्रा तय गर्यो।
स्विट्जरल्यान्डका म्यानुअल अकांजीले भने पेनाल्टी मिस गरे। सन १९५४ को विश्वकपपछि स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो।

































