फाइल तस्बिर
काठमाडौं । सरकारले निष्क्रिय पारेको सामाजिक सञ्जाल खोल्न निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा निष्क्रिय पारिएका फेसबुकलगायतका सामाजिक सञ्जाल खोल्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताए । ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो,’ उनले बताए ।
प्रतिबन्ध लगाइएका मध्येका एक सामाजिक सञ्जाल एक्सले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नहुनेगरी जवाफ फर्काएको प्रधानमन्त्रीले मन्त्रिपरिषदमा ब्रिफिङ गरेका थिए । एक मन्त्रीका अनुसार एक्सले नेपालमा दर्ता नै नगर्ने बताएको छ ।
जेनजीहरूको प्रदर्शनका कारण सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका थिए । चर्को विरोध र सत्तारुढ दलबाटै दबाब थेग्न नसकेपछि अन्ततः सरकार निर्णयबाट पछि हटेको हो ।



































