काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका तीन जना नायब महानिरीक्षक (डीआईजी) आज राति १२ बजेपछि अनिवार्य अवकाशमा जाने भएका छन्। ठीक एक वर्षअघि एक वर्षे म्याद थप पाएका चार जना डीआईजीमध्ये तीन जना अवकाशप्राप्त बन्न लागेका हुन्। जसमध्ये एक जना भने संगठनको एआईजी छन्।
आज रातिदेखि अवकाशमा जाने डीआईजीहरूमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्यविभागमा कार्यरत कमल गिरी, मानवस्रोत विभागमा कार्यरत कुलबहादुर नेम्वाङ र स्टाफ कलेजमा कार्यरत शम्भु सुवेदी रहेका छन्। उनीहरूसँगै म्याद थप पाएका गणेशबहादुर ठाडामगर भने यसबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भइसकेका छन्। सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ६५ (ग) अनुसार डीआईजीको पदावधि चार वर्षको हुन्छ।
सोही दफाको उपनियम (२) मा आईजीको सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजीको पदावधि चार वर्षपछि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ। यही प्रावधानका आधारमा गत वर्ष तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पदावधि सकिन केही घण्टा बाँकी रहँदा उनीहरूको एक वर्ष म्याद थप गरेको थियो।































