काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता पक्षले बोलाएको केन्द्रीय समितिको बैठक आइतबार सुरू भएको छ।
काठमाडौंको जमलस्थित होटल येलो प्यागोडामा सुरू भएको बैठकमा संस्थापक केन्द्रीय सदस्य ९ जना मात्रै उपस्थित छन्। नाउपा निर्वाचन आयोगमा दर्ता हुँदा २१ जना केन्द्रीय सदस्य थिए।
अध्यक्ष रञ्जितलाई बहुमत पुर्याउन सकस भइरहेको छ। संस्थापक २१ सदस्यमध्ये बहुमत पुर्याउन ११ जना आवश्यक पर्छ।अहिलेसम्म ११ जनाले नै समर्थन जनाएको केन्द्रीय सदस्य रमेश विश्वकर्माले जानकारी दिए।
सोमबारसम्म चल्ने बैठकमा दामोदर पण्डित, पूर्ण बुढा, सावित्री चौधरी, योगेन्द्र घिसिङ, कोमल ज्ञवाली, आलोक चौधरी, रमेश विश्वकर्मा उपस्थित छन्।
लक्ष्मण चौधरी अस्पतालमा भएकाले बैठकमा सहमति जनाएको र जीवन धामी भोलिको बैठकमा सहभागी हुने विश्वकर्माले बताए। बैठकमा चार वटा कार्यसूची तय गरिएको छ। बैठकमा समसामयीक राजनीतिक विषय, विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोगमा अध्यावधिक गर्ने विषयमा छलफल हुने अध्यक्ष श्रेष्ठले बताएकी छन्।
गत साउन १६ गतेको राष्ट्रिय भेलाबाट संरक्षक रेशम चौधरी पक्षले रञ्जिता श्रेष्ठलाई कारबाही गर्दै अध्यक्षबाट हटाएको थियो।
रेशम पक्षले लालवीर चौधरीलाई अध्यक्ष बनाउँदै निर्वाचन आयोगमा अद्यावधिका लागि निवेदन दिएको भए पनि आयोगले भेला नै अवैध भन्दै खारेज गरिदिएको थियो।
त्यसपछि नाउपाको पहिलो पटक बैठक बसिरहेको हो। उक्त भेलामा संरक्ष रेशम चौधरी पक्ष भने उपस्थित छैन।































