काठमाडौं । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शंकास्पद अवस्थामा मृत फेला श्रीकृष्ण विकसँग सम्बन्धित घटनामा एक प्रहरी निरीक्षक र जवानलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा कार्यरत डीआईजी दिनेशकुमार आचार्य संयोजकत्वको छानबिन समितिले इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख, इन्स्पेक्टर बसन्त भुजेल र घटनाका बेला हिरासतको डिउटीमा खटिएका प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाही सिफारिस गरेको हो ।
उनीहरूलाई उही दरबन्दीमा कार्यरत नरहनेगरि अलग गर्न समेत समितिले भनेको छ । समितिको सिफारिस अनुसार इन्सपेक्टर भुजेललाई खुर्कोटबाट सरुवा गरेर बागमती प्रदेश कार्यालय पठाइएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।
यसैगरी, घटनाका हुँदाको बखतका डिउटी अफिसर, हवल्दार मेजर, सुवेदार मेजर, अपराध अनुसन्धानमा खटिएको अधिकृत, सीसीटीभी डिउटीमा खटिएको प्रहरी कर्मचारीलाई सचेत गराइएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रहरी वृत्त सातदोबाटोका प्रमुख र अनुसन्धान अधिकृतलाई जिम्मेवार, संवेदनशील र पीडित अनुकूल सेवा प्रवाहमा जिम्मेवार बन्न समितिले ध्यानाकर्षण गराएको छ ।
यही वैशाख ७ गते साँझ हिरासतमै रहेको अवस्थामा झुण्डिएको अवस्थामा भेटिएका विकको घटना शंकास्पद देखिएपछि प्रहरीले डीआईजी आचार्यको नेतृत्वमा समिति बनाएर थप अनुसन्धान अघि बढाएको थियो ।
समितिमा यूएन शाखाका एसपी रवीन्द्रनाथ पौडेल, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का इन्स्पेक्टर इन्द्रजित सुनार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रेम रेग्मी र सोही कार्यालयका सई राजेश्वर देवकोटा सदस्य थिए ।
घटनापछि छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, खिमा विश्वकर्मा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गणेश विक लगायत जिल्ला प्रशासन कार्यालय सिन्धुली पुगेर धर्ना बसेका थिए ।
समितिमा रहेका एक अधिकारीका अनुसार हिरासतको डिउटी, हिरासतको अवस्थाको नियमित मूल्यांकनका लागि कार्ययोजना बनाउन समितिले सुझाव दिएको छ । यसैगरी, हिरासत गार्ड डिउटीमा खटिने कर्मचारीलाई बढीमा तीन घण्टा खटाउन भनिएको छ ।
भविष्यमा यस्ता घटना हुन नदिन संवेदनशील बन्ने, प्रहरीमा रहेको दलित सेललाई प्रभावकारी सम्बोधन गर्न सक्षम संयन्त्रको रूपमा स्पष्ट व्यवस्था गर्न कार्यविधि व्यवस्था गर्न समितिले सुझाव दिएको छ ।
यसैगरी, हिरासतको भौतिक संरचना र थुनुवालाई क्षति पुर्याउने अवस्थाको मूल्यांकन गरेर प्रभावकारी कार्ययोजना बनाउन, भेटघाट रजिस्टरलाई प्रभावकारी बनाउन, २४ सै घण्टा सीसीटीभी मनिटिरिङलाई अझ व्यवस्थित बनाउन, थुनुवाहरूलाई काउन्सिलिङ गर्न र हिरासत व्यवस्थापन मार्गनिर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्न समितिले सुझाव दिएको छ ।
समितिका अनुसार श्रीकृष्णको मृत्यु झुण्डिएकै कारण भएको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ । त्रिवि शिक्षण अस्पतालका चार सदस्यीय विशेषज्ञहरूको प्रतिवेदन अनुसार उक्त निष्कर्ष समेटिएको छ ।
पोस्टमार्टम रिपोर्टमा घाँटीमा डोरीको बाहेक शरीरमा अन्य कुनै चोटपटक नदेखिएकाले श्रीकृष्णको मृत्यु कुटपिटबाट नभएको, शरीरमा कुनै पनि विषादीजन्य पदार्थ प्रयोग गरेको अवस्था नदेखिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।
समितिले १८ वर्षभन्दा मुनिको विवाह भएकाले किशोरीका आफन्तले दिएको जबर्जस्ती करणकीको जाहेरी कानूनी व्यवस्थाका कारण लिनैपर्ने प्रहरीको बाध्यता रहेको समेत उल्लेख गरेको छ ।
समितिले अन्तरजातीय विवाहको विषयमा राज्य संवेदनशील बन्नुपर्ने, हिरासतमा हुने मृत्युका घटनामा राज्यले अपनत्व लिएर पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने समेत सुझाव दिएको छ ।
प्रहरीका अनुसार मृतक श्रीकृष्ण विक र खोटाङ घर भएकी एक किशोरीबीच करिब २ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । चैत २८ गतेदेखि ती किशोरी बेपत्ता भएको भन्दै उनको परिवारले प्रहरी वृत्त सातदोबाटोमा चैत ३० गते खोजतलासका लागि निवेदन दिएका थिए ।
त्यसपछि वैशाख ३ गते दिउँसो बेपत्ता भनिएकी किशोरी र श्रीकृष्ण आफन्तहरूसहित प्रहरी वृत्त सातदोबाटो प्रहरी वृत्त पुगेका थिए । घटनास्थल सिन्धुली भनेपछि सातदोबाटोले उतै पठाएको थियो । वैशाख ४ गते श्रीकृष्णलाई इलाका प्रहरी कार्यालय खुर्कोट पुर्याइएको थियो ।
खुर्कोट लगेपछि आफन्तले बलात्कार भएको भन्दै श्रीकृष्णविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले बलात्कारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाएको थियो ।



































