काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।
सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संसद बैठकमा उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका विपक्षी दलहरूले संसद चल्न दिएका थिएनन् ।
सदनको आजको सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रममािको छलफलका क्रममा उठेका प्रश्नहरूको प्रधानमन्त्री बालेनले जवाफ दिने उल्लेख छ । त्यसपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।
त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।



































