काठमाडौं । बुटवलमा गर्भवती गीता पाण्डेको मृत्यु प्रकरणमा संलग्न एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ ।
छानबिन समितिको सिफारिसका आधारमा काउन्सिलले डा. सतिषकुमार रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको हो । काउन्सिलका रजिष्ट्रार डा. सतिषकुमार देवका अनुसार शनिबार बसेको काउन्सिलको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो ।
काउन्सिलले घटनामा संलग्न स्वास्थ्य संस्था ‘जोनल फार्मेसी’ र ‘ईन्दुलेखा स्वास्थ्य क्लिनिक’लाई समेत बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । साथै उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीमाथि पनि कारबाहीको सिफारिस गरिएको जनाइएको छ ।
पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीताको झण्डै १४ हप्ताको गर्भपतन गराउने क्रममा वैशाख ६ गते मृत्यु भएको थियो । परिवारले भने गर्भ १२ हप्ताको मात्र रहेको दाबी गरेका छन् । तर छानबिन समितिको प्रतिवेदनले १३ हप्ताभन्दा बढी समयको गर्भ रहेको औंल्याएको छ ।
समितिले गीता पाण्डेलाई गर्भपतनसम्बन्धी औषधि उपलब्ध गराउने ‘जोनल फार्मेसी’ तथा अन्तिम चरणमा संलग्न ‘ईन्दुलेखा स्वास्थ्य क्लिनिक’ दुवै संस्थाले आवश्यक स्वीकृति नलिएको पाएको छ । चिकित्सकहरूको आचारसंहिता, २०१७ अनुसार प्रारम्भिक कारबाहीस्वरूप निलम्बन गरिएको काउन्सिलले जनाएको छ ।







































