काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली, वर्षा र हिमपात हुने क्रम जारी छ।
यो क्रम आज दिउँसो तथा राति पनि जारी रहने जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।
दिउँसो : देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ।
राति : गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षार हिमपात हुने सम्भावना छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
































