बागलुङको ढोरपाटन नगरपालिकामा झडप भएको छ । हिजो राति सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । जस मध्ये एकको अवस्था गम्भीर रहेको छ ।
झडपमा ढोरपाटन नगरपालिका– ९ का २६ वर्षीय भिमबहादुर विक र वडा नम्बर १ का ४० वर्षीय खिमबहाखुर विक घाइते भएका छन् । घाइते भिमबहादुरको अवस्था गम्भीर छ । उनलाई हेलीकप्टर मार्फत पोखराको मणिपाल अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजेशकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार शुक्रबार राति १२ बजे दुई गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ता बीच झडप भएको थियो । झडपका कारण शनिबार दिउँसोसम्म पनि मत गणना भएको छैन । मत गणनाका लागि गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा झडप भएको प्रहरीको भनाई छ ।
११ मतदान स्थल र २४ मतदान केन्द्र रहेको ढोरपाटनमा १२ हजार १ सय मत खसेको थियो । जुन ६९.१३ प्रतिशत हो । ढोरपाटनमा नगरपालिकामा कुल मतदाता १७ हजार ६ सय ३० रहेका छन् ।