शाखा अधिकृत ढकालको सेटिङ : पोखरासँगै काम गरेका नासुको पनि आफूसँगै सरुवा

काठमाडौंका एक मेनपावर व्यवसायीका अनुसार काम फर्स्यौट भएकै दिन उनीहरूले विभिन्न व्यक्तिको क्यूआर कोडमा पैसा जम्मा गर्न लगाउने गरेका थिए।

शाखा अधिकृत ढकालको सेटिङ : पोखरासँगै काम गरेका नासुको पनि आफूसँगै सरुवा
काठमाडौं । करिब साढे २ वर्ष पोखरा श्रम कार्यालयमा कार्यरत प्रदीप ढकालले नायब सुब्बा रामप्रसाद पोखरेललाई सेटिङमा धनगढी पुर्याएका छन् । पोखरा श्रम कार्यालयको एउटै शाखामा कार्यरत शाखा अधिकृत ढकालले नायब सुब्बा पोखरेललाई सेटिङमा सरुवा गरेर धनगढी लगेका हुन् । यसअघि नै पोखरा हुँदा शाखा अधिकृत ढकालले अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता भएको छ । दुई हप्ताअघि मात्रै धनगढी सरुवा भएका शाखा अधिकृत ढकाल र नायब सुब्बा पोखरेलको मेनपावर व्यवसायीहरूसँग अवैध कनेक्सन रहेको समेत न्यूज खरीले समाचार प्रकाशन गरिसकेको छ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने जिम्मेवारीमा रहेका यी कर्मचारीहरूले व्यवसायीहरूसँग नगद तथा डिजिटल माध्यम (क्यूआर कोड) मार्फत रकम असुल गर्ने गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडी बढाएको छ । काठमाडौंका एक मेनपावर व्यवसायीका अनुसार काम फर्स्यौट भएकै दिन उनीहरूले विभिन्न व्यक्तिको क्यूआर कोडमा पैसा जम्मा गर्न लगाउने गरेका थिए। ती व्यवसायीले न्यूजखरीसँग भनेका छन्, ‘काम उहाँहरूले नै गरिदिनुहुन्थ्यो। अहिले उहाँहरूको धनगढी सरुवा भएको छ, तर त्यहाँ गए पनि हाम्रो काम उहाँहरूले नै मिलाइदिनुहुन्छ। त्यसबापत हामीले कहिले क्यूआर त कहिले नगद बुझाउने गरेका छौँ।’ सहज रूपमा रकम असुल गर्न उनीहरूले बिचौलियाका रूपमा ओमप्रकाश क्षेत्रीको नाममा रहेको एनआइसी एशिया बैंकको क्यूआर कोड प्रयोग गर्ने गरेको खुलेको छ। उजुरीमा वैदेशिक रोजगारीको श्रम स्वीकृति दिने क्रममा गैरकानुनी रूपमा आर्थिक लेनदेन गरेको, सेटिङ मिलाउन सरुवा रोकेको र बेनामी सम्पत्ति जोडेको दाबी गरिएको छ। विशेषगरी युरोपलगायतका देशमा जाने कामदारको श्रम स्वीकृति दिँदा विभिन्न बहाना बनाएर फाइल रोक्ने र रकमको मोलमोलाइ मिलेपछि मात्र काम अघि बढाउने गरेको व्यवसायीहरूको आरोप छ। आफ्नो ठाउँमा शाखा अधिकृत कार्कीको सरुवा लामो समय श्रम कार्यालय पोखरा बसेका शाखा अधिकृत ढकालले अर्का शाखा अधिकृत रविन कार्कीलाई त्यहाँ सरुवा गराएका छन् । एक कर्मचारीका अनुसार आफ्ना कमजोरी छोप्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा कार्यरत शाखा अधिकृत कार्कीलाई उनकै जोडबलमा पोखरा सरुवा गरिएको हो । हाल पोखरामा रहेका शाखा अधिकृत कार्कीले विभागले सरुवा गरेर पठाएर आएको बताएका छन् । तपाईं पनि सेटिङमै गएको हो ? भन्ने प्रश्नमा उनले उत्तर नदिई फोन राखेका छन् । पछि उनी सम्पर्कमा आउन चाहेनन् । ७ वर्ष एउटै निकायमा श्रम मन्त्रालय र वैदेशिक रोजगार विभाग अन्तर्गत करिब ७ वर्षदेखि कार्यरत अधिकृत ढकालले पहुँचको दुरुपयोग गरी आफ्नो सरुवा रोक्ने गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई विभिन्न समयमा स्थानीय तहमा तीन पटकसम्म सरुवा गरे पनि कर्मचारी प्रशासन शाखामा आर्थिक चलखेल गरी ती सरुवाहरू बदर गराएको आरोप उनीमाथि छ। त्यसअघि त्रिभुवन विमानस्थलमा पनि बसेका ढकालमाथि अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । याे पनि  श्रम कार्यालय धनगढीका अधिकृत ढकालमाथि अकुत सम्पत्ति र ‘क्यूआर कोड’ बाट घुस लिएको आरोप, प्रधानमन्त्री कार्यालयमा उजुरी ! श्रम कार्यालयका अधिकृत ढकाल र नासु पोखरेलको मेनपावर व्यवसायीसँग ‘कनेक्सन’, तेस्रो व्यक्तिको क्यूआरबाट रकम असुली शाखा अधिकृत ढकाल र नासु पोखरेलविरुद्ध अख्तियारमा उजुरी : २० करोड अकुत सम्पत्ति आर्जन गरेको दाबी