डीपल ईभीमा विष्णु अग्रवालको बदमासी, कर छली गरेपछि कागजपत्र जफत

विभागका अनुसार मोटरको क्षमता कम देखाएर भन्सार र अन्तशुल्क छली गरेको पाइएकाले एमएडब्ल्यूबाट कागजपत्रसमेत बरामद गरेर अनुसन्धान थालिएको छ ।आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ५० देखि १०० किलोवाटका ईभीमा १५ प्रतिशत भन्सार शुल्क र १० प्रतिशत अन्तःशुल्क लिँदै आएको छ ।

डीपल ईभीमा विष्णु अग्रवालको बदमासी, कर छली गरेपछि कागजपत्र जफत
काठमाडौं । नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णु अग्रवालको स्वामित्वमा रहेको मोरङ अटो वर्क्स (एमएडब्ल्यू) कम्पनीले नेपालमा आयात गर्ने डीपल एस ०७ ईभीमा कम क्षमताको मोटर देखाएर कर छली गरेको पाइएको छ । चीनको च्यांङग्यान मोटर्सद्वारा निर्मित विद्युतीय कार डीपल एस ०७ को वास्तविक मोटर क्षमता १६० किलोवाट रहे पनि नेपाल आयात गर्दा जाँचपासमा भने जम्मा ९९ किलोवाटको देखाउने गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार मोटरको क्षमता कम देखाएर भन्सार र अन्तशुल्क छली गरेको पाइएकाले एमएडब्ल्यूबाट कागजपत्रसमेत बरामद गरेर अनुसन्धान थालिएको छ ।आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ५० देखि १०० किलोवाटका ईभीमा १५ प्रतिशत भन्सार शुल्क र १० प्रतिशत अन्तःशुल्क लिँदै आएको छ । त्यस्तै १०१ देखि २०० किलोवाटका ईभीमा सरकारले भन्सार र अन्तस्शुल्क २०/२० प्रतिशत लिने गरेको छ । आगामी नयाँ आर्थिक वर्षमा भने भन्सार र अन्तशुल्क दुवै बढाइएको छ । १६० किलोवाटका ईभीलाई कागजमा ९९ किलोवाट मात्र देखाएर भन्सार र अन्तःशुल्क दुवैमा ५र५ प्रतिशत छली गरिएको विभागले जनाएको छ । च्याङग्यानको नेपाली वेबसाइटमा डीपल एस ०७ को स्पेसिफिकेसनमा मोटर क्षमता ९९ किलोवाट देखाइएको छ भने अधिकतम टर्क ३२० न्युटन मिटर राखिएको छ । चीनमा उत्पादन गरिएको उक्त ईभीको चिनियाँ वेबसाइट र समाचारहरूमा भने १६० किलोवाट क्षमताको मोटर रहेको र अधिकतम टर्क उही ३२० न्युटन मिटर उल्लेख छ । चीनमा डीपल एस ०७ दुई भेरिएन्टमा उत्पादन हुन्छ । पहिलो हाइब्रिड हो भने दोस्रो पूर्ण विद्युतीय । विद्युतीय कार पनि दुई क्षमताको हुने सेन्चु­­­­­­री अटोमोबाइल्सले जनाएको छ । १६० र १९० किलोवाटको दुई फरक फरक क्षमताको विद्युतीय कार चीनमा उत्पादन हुन्छ ।