संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्री बनाउने कांग्रेसको निर्णय

उनले राजनीतिक रूपमा कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वाभाविक रूपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाइ भन्दा बढी मत भएपछि नयाँ सरकार गठन हुने बताए । नयाँ सरकार गठन हुन ७६ (३) मा जानु नपर्ने र ७६ (२) अनुसार नै नयाँ सरकार गठन हुने बताए ।

संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्री बनाउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताएको छ । शनिबार संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले ओली नेतृत्वको सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने स्पष्ट पारेका हुन् । संविधानको धारा ७६ को २ मा सरकार गठन भइसकेपछि ७६ को २ बमोजिम नियुक्त हुनुहुने प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र त्यो काम प्रधानमन्त्री पुष्पकमल दाहालले पूरा गरिसकेको बताए । उनले अहिलेको विश्वासको मतको प्रस्ताव धारा १०० बमोजिम विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्नुपर्ने बताए । उनले राजनीतिक रूपमा कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वाभाविक रूपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाइ भन्दा बढी मत भएपछि नयाँ सरकार गठन हुने बताए । नयाँ सरकार गठन हुन ७६ (३) मा जानु नपर्ने र ७६ (२) अनुसार नै नयाँ सरकार गठन हुने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतको विपक्षमा पार्टीले मतदान गर्ने निर्णय गरेको पनि बताए । उनले बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबिच यही असारको १७ गते राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर सहमति भएको र आजको संसदीय दलको बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिलाई समर्थन गरेको छ र स्वागत गरेको जिकिर गरे ।