काठमाडौं । राहदानी विभागले राहदानी वितरण स्थगित गरेको छ। सिस्टममा समस्या आएकाले अनिश्चितकालका लागि वितरण स्थगित गरिएको विभागले जनाएको छ।
पुस १७ गतेदेखि नै सिस्टममा खराबी आई राहदानी छपाइ र वितरण अवरुद्ध हुन गएको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् । समस्या समाधानका लागि प्रयास भइरहे पनि समाधान हुन केही समय लाग्ने उनले बताइन् । तर‚ आवेदनका लागि समय लिइसकेका सेवाग्राहीहरूको भने बूक गरेको मिति र समयमा नै बायोमेट्रिक हुने विभागले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भने आजै सचिवहरूलाई सार्वजनिक सेवा प्रवाह चुस्तदुरुस्त बनाउन निर्देशन दिएका छन् ।
शिक्षा, स्वास्थ्य, यातायात जस्ता आधारभूत सेवाका साथै राहादानी, सवारीचालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत कर बुझाउने जस्ता सेवामा भएको समस्या हटाई तत्काल महसूस हुने गरी काम गर्न निर्देशन दिएका छन्।

