मुकुल ढकालले भने-मैले बिहे गर्ने कि कुमारै बस्ने पार्टीले निर्णय गरोस्

पार्टी केन्द्रीय समितिको बैठकमा पेश गर्न तयार पारेको प्रस्तावमा ढकालले जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने उल्लेख गरेका हुन् ।

मुकुल ढकालले भने-मैले बिहे गर्ने कि कुमारै बस्ने पार्टीले निर्णय गरोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनमाथि पार्टीका नेताहरूले लगाएको आरोपमाथि आपत्ति जनाएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा पेश गर्न तयार पारेको प्रस्तावमा ढकालले जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने उल्लेख गरेका हुन् । उनले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन् । ‘गल्फ्रेन्डको कुरा, मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन। मैले बिहे नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्। केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर् भन्छ भने पनि तयार छु । वा आफ्नो इच्छा गर् भन्छ भने नि ठीक छ । तर, निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस्,’ बैठकमा पेश गर्न तयार पारिएको प्रस्तावमा भनिएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले लिखित रूपमै धारणा राख्न खोजेका थिए । तर, उनले बोल्न पाएका छैनन् ।