आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभामा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण २०८० आषाढ) पेस गर्ने कार्यसूची छ ।

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ भने दिउँसो सवा १ बस्दै छ । प्रतिनिधिसभामा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण २०८० आषाढ) पेस गर्ने कार्यसूची छ । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव गर्ने, अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव गर्नेछन् । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ । मन्त्री भण्डारीले उक्त विधेयकलाई पारित गरियोस् भन्ने कार्यसूची पनि रहेको छ । त्यस्तै दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शिर्षकहरूमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयमाथि छलफल हुनेछ । त्यस्तै शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमाथि पनि छलफल हुनेछ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची छ ।