८ देशमा राजदूत सिफारिस, को-कहाँ (सूचीसहित)

सरकारले अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेलाई पठाउने निर्णय गरेको छ। भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, दक्षिण कोरिया सुशील प्याकुरेल पठाउने भएको छ। रेग्मी यसअघि बेलायतका लागि सिफारिस भएका थिए।

८ देशमा राजदूत सिफारिस, को-कहाँ (सूचीसहित)
काठमाडौं । मन्त्रिपरिषद् बैठकले ८ देशका लागि राजदूत सिफारिसको निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक ८ देशका लागि राजदूत सिफारिस गरेको हो। सरकारले अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरेलाई पठाउने निर्णय गरेको छ। भारतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, दक्षिण कोरिया सुशील प्याकुरेल पठाउने भएको छ। रेग्मी यसअघि बेलायतका लागि सिफारिस भएका थिए। प्याकुरेल राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य हुन्। उनी विद्या भण्डारी राष्ट्रपति छँदा सल्लाहकार पनि भएका थिए। यस्तै सुम्निमा तुलाधर डेनमार्क, विजय पन्त बेलायत, पुष्पराज रन्जितकार स्पेन, डा नेत्रप्रसाद तिम्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस भएका छन्। तुलाधर र डा तिम्सिना सामाजिक आन्दोलनमा सक्रिय छन्। तुलाधर २०७८ जेठमा अस्ट्रेलियाका लागि राजदूत सिफारिसमा परेकी थिइन्। उनी मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरकी छोरी पनि हुन्। गैरसरकारी संस्था सिबिनसँग पनि आबद्ध थिइन्। डा तिम्सिना गैरसरकारी संस्था महासंघ नेपालका पूर्वअध्यक्ष हुन्। उनी अति कम विकसित देशहरू (एलडीसी) का नागरिक संस्थाहरूको अन्तर्राष्ट्रिय आन्दोलनमा सहभागी सहभागी छन्। उनले नेपाल रेडक्रस सोसाइटीको पनि नेतृत्व गरिसकेका छन्।