गैर अवासीय नेपालीलाई महासंघका अध्यक्ष ढकालको आग्रह-'आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याऔं'

महासंघको नेतृत्वमा स्थापना हुने १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनीको विषय सरकारले आगामी वर्षको लागि ल्याएको बजेटमा समेत समावेश गरेको उल्लेख गर्दै उनले यसले नेपालमा विभिन्न सम्भावित आयोजनामा लगानी गर्ने बताए ।

गैर अवासीय नेपालीलाई महासंघका अध्यक्ष ढकालको आग्रह-'आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याऔं'
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अस्ट्रेलियामा रहेका गैरआवासीय नेपाली (एनआरएनए)लाई आह्वान गरेका छन् । नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालीहरूले मुलुकबाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन आवश्यक रहेको उल्लेख गरे । ढकालले नेपालमा लगानीका असमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएको बताए । ‘नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषि जन्य उद्योगहरूको प्रचुर सम्भावना रहेको छ,’ उनले भने, ‘लगानी सम्मेलन २०२४ लाई लक्षित गरी नेपाल सरकारले आधा दर्जनभन्दा बढी कानुनहरू संशोधन गर्दै प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक लगानी वृद्धिका लागि वातावरण सिर्जना गर्न पहल गरेको छ ।’ महासंघको नेतृत्वमा स्थापना हुने १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनीको विषय सरकारले आगामी वर्षको लागि ल्याएको बजेटमा समेत समावेश गरेको उल्लेख गर्दै उनले यसले नेपालमा विभिन्न सम्भावित आयोजनामा लगानी गर्ने बताए । अध्यक्ष ढकालले यस कम्पनीमा शेयर लगानी गर्दै नेपालको विकास र सम्मृद्धिमा हातेमालो गर्न अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गरे । अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा वैदेशिक लगानी प्रवर्तनका लागि छुट्टै एफडीआई डेक्स स्थापना गरेको बताउँदै मुलुकमा स्वदेशी तथा विदेशी दुवै लगानी भित्र्याउन आवश्यक सहयोग तथा सहजीकरण गर्न सदैव तयार रहेको प्रतिबद्धता जनाए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बोमबहादुर मिश्रले नेपालमा रेमिट्यान्स पठाउँदा औपचारिक बैंकिङ माध्यमको प्रयोग गर्न जोड दिए । उनले कुनै पनि विदेशी व्यक्ति तथा गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुकबाहिर लैजान कुनै समस्या नरहेको उल्लेख गर्दै राष्ट्र बैंकले यसमा सहजीकरण गर्नेसमेत जनाए । यस्तै ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाली बैंकहरू ठूल–ठूला लगानीका लागिसमेत सक्षम बन्दै गएको बताए । नेपाली बैंकहरू राष्ट्र बैंकको रेगुलेसनमा रहेको बताउँदै उनले नेपाली बैंकमा निक्षेप राख्दा सुरक्षित हुने र तुलनात्मकरुपमा बढी ब्याज पाइनेसमेत उल्लेख गरे । कार्यक्रममा २०० बढी गैर आवासीय नेपालीको सहभागिता रहेको थियो ।