देशभरी कहिले फैलिन्छ मनसुन, यसो भन्छन् मौसमविद्

यस क्रममा आइतबार बिहान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘हामी निरन्तर अनुगमन गरिरहेका छौँ, मनसुन मधेस प्रदेश र बागमती प्रदेशका पूर्वी भूभागसम्म आइसकेको छ, तर हामी छलफलमै छौँ, आज एउटा निष्कर्षमा पुगेर मनसुनबारे नयाँ बुलेटिन जारी गर्ने सम्भावना अधिकतम छ।’

देशभरी कहिले फैलिन्छ मनसुन, यसो भन्छन् मौसमविद्
काठमाडौं । नेपालमा मनसुन भित्रिएको आज (असार २ गते) ८ दिन भइसकेको छ। मौसम पूर्वानुमान महाशाखाले गत जेठ २८ गते (जुन १० तारिख) कोसी प्रदेशको पूर्वी क्षेत्रमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो। त्यसयता महाशाखाले आफ्नो मौसम पूर्वानुमान बुलेटिनमा दैनिक लेख्ने गरेको छ ‘हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।’ यस सूचनाबाट आठ दिनदेखि मनसुन देशको पूर्वी क्षेत्रमा मात्र सीमित रहेको बुझिन्छ। तर पूर्वी क्षेत्र भन्नाले नेपालको कुन जिल्ला वा स्थानसम्म मनसुन आइसकेको हो त ? प्रस्ट हुँदैन। मौसम महाशाखाका मौसमविद्ले मनसुन कोसी प्रदेशको पूरै क्षेत्रमा फैलिसकेको तथा मधेस र बागमती प्रदेशसम्म त्यसको प्रभाव सुरु भएको बताउने गरेका छन्। यस क्रममा आइतबार बिहान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘हामी निरन्तर अनुगमन गरिरहेका छौँ, मनसुन मधेस प्रदेश र बागमती प्रदेशका पूर्वी भूभागसम्म आइसकेको छ, तर हामी छलफलमै छौँ, आज एउटा निष्कर्षमा पुगेर मनसुनबारे नयाँ बुलेटिन जारी गर्ने सम्भावना अधिकतम छ।’