'फ्लोर क्रस' सांसद देवकोटालाई माओवादीले गर्‍याे कारबाही

माओवादीले भने आफ्नो चुनाव चिह्न लिएकोले देवकोटा माओवादी संसदीय दलकै ह्विप लाग्ने बताउँदै आएको छ। मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा एक दिन पहिले माओवादी गण्डकी संसदीय दलले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत नदिन ह्विप जारी गरेको थियो। तर उक्त ह्विप सांसद देवकोटाले उल्लंघन गरेको माओवादीको भनाइ छ।

'फ्लोर क्रस' सांसद देवकोटालाई माओवादीले गर्‍याे कारबाही
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गत जेठ २८ गते फ्लोर क्रस गरेर विश्वासको मत दिएको भन्दै माओवादीले सांसद देवकोटामाथि शुक्रबार कारबाही गरेको हो। देवकोटामाथि कारबाही गरिएको जानकारी माओवादीले प्रदेश सभा सचिवालयलाई पठाइसकेको छ। ‘हामीले उहाँलाई कारबाही गरेका छौं, सभामुखले आजै त्यसको जानकारी प्रदेश सभा बैठकमा गराउनुपर्ने हो,’ माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले भने । नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को चुनावमा नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचन जितेका थिए। उनले आफू माओवादीको नभई समाजवादीको सांसद रहेको र मुख्यमन्त्रीलाई मत दिन समाजवादीका केन्द्रीय नेताले दिएको निर्देशन कार्यान्वयन मात्रै गरेको प्रतिक्रिया दिने गरेका छन्। माओवादीले भने आफ्नो चुनाव चिह्न लिएकोले देवकोटा माओवादी संसदीय दलकै ह्विप लाग्ने बताउँदै आएको छ। मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा एक दिन पहिले माओवादी गण्डकी संसदीय दलले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत नदिन ह्विप जारी गरेको थियो। तर उक्त ह्विप सांसद देवकोटाले उल्लंघन गरेको माओवादीको भनाइ छ। गत जेठ २८ गते कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका २, देवकोटा, स्वतन्त्र सांसद दीपक मनाङेसमेतको समर्थनमा मुख्यमन्त्री पाण्डेले विश्वास मत पाएका थिए। विश्वास मत दिएपछि सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेले ऊर्जामन्त्रीसमेत बनाएका छन्।