नेपालमा उत्पादित हुन्डाइ भेन्यु कारको मूल्य सार्वजनिक

पहिलो चरणमा हुन्डाइ भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने योजना रहेको कम्पनीले जनाएको छ । यसै आर्थिक वर्षभित्र हुन्डाइ ग्रान्ड आई टेन र न्यु हुन्डाइ क्रेटाको उत्पादन पनि सुरु गर्ने तयारी कम्पनीको छ ।

नेपालमा उत्पादित हुन्डाइ भेन्यु कारको मूल्य सार्वजनिक
काठमाडौं । नेपालका लागि हुन्डाइ मोटर कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमै हुन्डाइ भेन्युको व्यावसायिक उत्पादन गरी बिक्री सुरु गरेको छ । लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाइ मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाइ भेन्यु मोडल उत्पादन सुरु गरेको हो । गत वैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले नवलपरासीको रामग्राम ६ मा ‘हुन्डाइ मोटर एसेम्बलिङ’ शुभारम्भ गरेका थिए । यससँगै कम्पनीले हुन्डाइ भनेन्युको बिक्री सुरु गरेको जनाएको छ । पहिलो चरणमा हुन्डाइ भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने योजना रहेको कम्पनीले जनाएको छ । यसै आर्थिक वर्षभित्र हुन्डाइ ग्रान्ड आई टेन र न्यु हुन्डाइ क्रेटाको उत्पादन पनि सुरु गर्ने तयारी कम्पनीको छ । हुन्डाइ भेन्युको नयाँ मूल्यसूची अनुसार ११९७ सीसीको भेन्यु एफएल १.२ एसको मूल्य ४४ लाख ९६ हजार रहेको छ । यस्तै ११९७ सीसीको भेन्यु एफएल १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ रहेको हुन्डाइ मोटर कम्पनीले जनाएको छ । यी दुवै पेट्रोल कार हुन् ।