बागमतीका मेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

सर्लाहीको बागमती नगरपालिकाको वडा नम्बर ४ र १२ मा बागमती माछापोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ बिक्रीमा अनियमितता गरेको आरोप उनीहरूमाथि छ।

बागमतीका मेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा (हाल निलम्बित), उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल सहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्ति हिनामिना गरेको र भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसूर गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आयोगको आरोपपत्रमा नगरपालिकाका योजना शाखा प्रमुख सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई पनि प्रतिवादी बनाइएको छ। यीमध्ये चौधरीलाई कैद र जरिवानाको मात्रै माग दाबी गरिएको छ भने अन्य सबै आरोपी विरुद्ध समान ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको बिगो दाबी गरेको छ। सर्लाहीको बागमती नगरपालिकाको वडा नम्बर ४ र १२ मा बागमती माछापोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थ बिक्रीमा अनियमितता गरेको आरोप उनीहरूमाथि छ। थापा विरुद्ध यसअघि पनि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले गत चैत २८ गते पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो माग दाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो।