काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारत जाँदैछन्। प्रधानमन्त्री प्रचण्ड भारतका समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा उनको शपथ ग्रहण समारोहमा भाग लिन त्यता जान लागेका हुन्।
तेस्रोपटक भारतको प्रधानमन्त्री बनेका मोदीले आइतबार शपथ लिँदैछन्। प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो एक बजे भारत प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाले जानकारी दिए।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री भारतीय समकक्षी मोदीको शपथ ग्रहण समारोहमा जाने निर्णय गरेको थियो। प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षीबीच आइतबार नै भेटवार्ताको कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। प्रधानमन्त्री प्रचण्डका साथ उनकी पुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी रहनेछन्। प्रधानमन्त्री सोमबार फर्कने कार्यक्रम छ।
भारतमा फेरि मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार प्रमुख रहेको जनता दल (युनाइटेड) र चन्द्रबाबु नायडू प्रमुख रहेको तेलुगु देशम पार्टी (टिडिपी) ले बुधबार लिखित सहमति गरेका थिए। उनीहरू चुनाव अघिदेखि नै एनडिए गठबन्धनमा थिए।
मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री प्रचण्डसँगै श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ लगायतलाई पनि निमन्त्रणा गरिएको छ।
प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै
भारतमा फेरि मोदीलाई प्रधानमन्त्री बनाउन नितिश कुमार प्रमुख रहेको जनता दल (युनाइटेड) र चन्द्रबाबु नायडू प्रमुख रहेको तेलुगु देशम पार्टी (टिडिपी) ले बुधबार लिखित सहमति गरेका थिए। उनीहरू चुनाव अघिदेखि नै एनडिए गठबन्धनमा थिए।

