पूर्व श्रीमतीलाई अर्कै पुरुषसँग कोठामा देखेपछि हत्या

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–६ राप्ती टोलमा डेरामा बस्ने ३१ वर्षीया टीका रावललाई शुक्रबार बिहान सेनाका हवलदार ३६ वर्षीय शालिकराम बुढाथोकीले धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । शालिकराम र टीकाले यही जेठ १४ गते जिल्ला अदालत सल्यानबाट सम्बन्ध विच्छेद गरेको खुलेको छ ।

पूर्व श्रीमतीलाई अर्कै पुरुषसँग कोठामा देखेपछि हत्या
बुटवल । नेपाली सेनाका हवलदारले सम्बन्ध विच्छेद भएको दश दिनमा ​पूर्वश्रीमतीको हत्या गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–६ राप्ती टोलमा डेरामा बस्ने ३१ वर्षीया टीका रावललाई शुक्रबार बिहान सेनाका हवलदार ३६ वर्षीय शालिकराम बुढाथोकीले धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।​​ शालिकराम र टीकाले यही जेठ १४ गते जिल्ला अदालत सल्यानबाट सम्बन्ध विच्छेद गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक मल्लले उनीहरू पूर्व दम्पती रहेको जानकारी दिए । हत्या गर्ने शालिकराम केही महिनाअघि मात्रै शान्ति मिसनबाट फर्किएका थिए । उनी ज्वालादल गण बारामा कार्यरत रहेको खुलेको छ । शुक्रबार बिहान साढे ८ बजेतिर टीका बस्ने कोठामा पुगेका बुढाथोकीले नेपाली सेनामा नै कार्यरत जवान आर्यन थापासँग बसेको देखेपछि दुवै जनालाई खुकुरी प्रहार गरेका थिए । अन्धाधुन्ध खुकुरी प्रहार गरेर उनी त्यहाँबाट भागेका थिए । भाग्ने क्रममा बुढाथोकीले प्रहार गरेको खुकरीले आर्यनको टाउको, हात र छातीमा चोट लागेको छ । आर्यनमाथि खुकुरी प्रहार भएपछि टीका कोठाबाट भागेर छिमेकीको घरमा लुकेकी थिइन् ।​​ शालिकरामले टीका लुकेको कोठामा पुगेर घाँटीलगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेर निस्किएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २९ वर्षीय अर्याल अछाम जिल्लाको कमल बजार नगरपालिका–४ घर भइ हाल तुलसीपुरको १९ नम्बर बाहिनीमा कार्यरत जवान हुन् ।​​ शालिकरामले शुरूमा आर्यनलाई खुकुरी प्रहार गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ । आर्यनको अवस्था खतरामुक्त रहेको डीएसपी मल्लले जानकारी दिए ।​​ आर्यनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । महिलाको हत्या गरेपछि उनी खुकुरी लिएर हिँडिरहेको अवस्थामा प्रहरीले उच्च अदालत तुलसीपुर नजिकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले टीकाको हत्या गरेको स्वीकार गरिसकेका छन् । शालिकराम र टीकाको सात वर्षीय छोरा रहेको बताइएको छ ।