रंगेलीका मेयरसहित नगरप्रहरीमाथि आक्रमण

कार्यालयमा काम गरेर बसिरहेका काबा मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि हातपातको अवस्था सिर्जना हुन थालेपछि नगर प्रहरीले प्रतिवाद गरेको थियो। सो क्रममा केही नगर प्रहरी घाइते भएको उनले जानकारी दिए।

रंगेलीका मेयरसहित नगरप्रहरीमाथि आक्रमण
काठमाडौं । मोरङको रंगेली नगरपालिकामा केही विद्यार्थीहरूको समूहले कार्यवाहाक मेयरसहित नगर प्रहरीमाथि आक्रमण गरेको छ। बिहीबार दिउँसो निजी विद्यालयले कानुन विपरित शुल्क लिइरहेको भन्दै केही विद्यार्थीहरूको समूह नगरपालिकामा पुगेको थियो। उक्त समूहले प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने र कार्यवाहक मेयर समेत रहेका वडा नम्बर–८ का वडाध्यक्ष ढकप्रसाद आचार्यमाथि दुव्र्यवहार गरेको मेयरको सचिवालय सदस्य करन ठाकुरले जानकारी दिए । उनका अनुसार, यसअघि नै उनीहरूले नगरपालिकाभित्र मनपरी शुल्क उठाइरहेको भन्दै ज्ञापन पत्र बुझाएका थिए। उक्त ज्ञापन पत्रको सुनुवाइ नभएको भन्दै विद्यार्थीहरू बिहीबार थप आक्रमक भएका थिए। काबा मेयर आचार्यलाई उक्त समूहमध्येका केहीले अगाडिको टेबुल झिकेर हिर्काउँदा छातिमा चोट समेत लागेको उनले बताए। कार्यालयमा काम गरेर बसिरहेका काबा मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि हातपातको अवस्था सिर्जना हुन थालेपछि नगर प्रहरीले प्रतिवाद गरेको थियो। सो क्रममा केही नगर प्रहरी घाइते भएको उनले जानकारी दिए। प्रमुख जिलला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार, अहिले त्यहाँको अवस्था सामान्य छ। नगरपालिकाले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले शुक्रबार ६ जनालाई पक्राउ गरेको उनले बताए। यसरी पक्राउ पर्नेमा पर्नेमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन्।