दुर्गा प्रसाईंको बिएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश

न्यायाधीश डा.कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले काठमाडौं विश्वविद्यालय काभ्रेपलाञ्चोक र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गर्दै बिएण्डसीको पक्षमा फैसला गरेको हो ।

दुर्गा प्रसाईंको बिएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले झापाको मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन निर्देशनात्मक आदेश दिएको छ । गत चैत १२ गते भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । न्यायाधीश डा.कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले काठमाडौं विश्वविद्यालय काभ्रेपलाञ्चोक र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गर्दै बिएण्डसीको पक्षमा फैसला गरेको हो । पहिले नै आशयपत्र लिएर लगानी गरेको मेडिकल कलेजको हकमा पछि बन्ने कानुनका बन्देजात्मक व्यवस्थाबाट निषेध गर्न नहुने भन्दै सर्वोच्च अदालतले सम्बन्धन दिनू भन्दै आदेश दिएको हो । फैसलामा भनिएको छ, ‘यस वर्षको शैक्षिक सत्र सुरु हुनुअघि एमबिबिएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू, दिलाउनू ।’ सर्वोच्च अदालतले १३ वर्षअघि सरकारबाट तोकिएको मापदण्डको पालना पनि गराउन आदेश दिएको छ । यो फैसलासँगै १५ दिनभित्र चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले यसवारेमा निर्णय गर्नुपर्नेछ । आयोग र काठमाडौं विश्वविद्यालयले फैसला बुझेपछि १५ दिनको समयसीमा गणना हुनेछ ।