विश्वप्रकाशको चुनौती– कांग्रेसलाई कारबाही गर्न गिरिबन्धुको फाइल खोल्नुस्

‘कांग्रेसले बेचेर ७० बिघा खायो भन्ने ओलीको भनाइ प्रमाणित गर्न र कांग्रेसलाई दण्डित गर्न तपाईँ गिरिबन्धुको फाइल खोल्न सक्नु हुन्छ गृहमन्त्रीज्यू ? खोल्न होइन बोल्न पनि सक्नु हुन्न । बोल्न सकेको भए शिक्षामन्त्री उपरको आरोप फिर्ता लिन भन्न सक्नु हुन्थ्यो,’ उनले भने ।

विश्वप्रकाशको चुनौती– कांग्रेसलाई कारबाही गर्न गिरिबन्धुको फाइल खोल्नुस्
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी स्टेटको फाइल खोल्न गृहमन्त्रीसँग आग्रह गरेका छन् । कांग्रेसले ७० बिघा बेचेर कमिसन खायो भन्ने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको आरोप प्रमाणित गरेर देखाउन उनले चुनौती दिए । बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा महामन्त्री शर्माले गिरिबन्धुको फाइल खोल्न आग्रह गरेका हुन् । ‘कांग्रेसले बेचेर ७० बिघा खायो भन्ने ओलीको भनाइ प्रमाणित गर्न र कांग्रेसलाई दण्डित गर्न तपाईँ गिरिबन्धुको फाइल खोल्न सक्नु हुन्छ गृहमन्त्रीज्यू ? खोल्न होइन बोल्न पनि सक्नु हुन्न । बोल्न सकेको भए शिक्षामन्त्री उपरको आरोप फिर्ता लिन भन्न सक्नु हुन्थ्यो,’ उनले भने । सर्वोच्च अदालतले गिरिबन्धुको जग्गामा ओली मन्त्रिपरिषद्ले नीतिगत भ्रष्टाचार गरेको भनेर पूर्णपाठ सार्वजनिक गरेलगत्तै ओलीले कांग्रेसलाई आरोपित गरेको शर्माले बताए । ‘हामीले केही बोलेकै थिएनौं, कांगेसले ७० विघा बेचेर कमिसन खायो भनेर आरोप लगाएपछि जवाफ दिएका हौं । रुद्ररुप धारण गरेर आरोप लगाएपछि, हामी मौनधारण गरेर बस्ने कुरा थिएन । हामीले यति बोलेबापत लिखित माफी माग्नु पर्ने ?’ उनले प्रतिप्रश्न गरे । भूमिसम्बन्धी ऐन बनाउँदा कांग्रेसले संशोधन नहालेको भन्ने एमाले सचिव योगेश भट्टराईको आरोप खण्डन गर्दै शर्माले संशोधन हाल्ने सांसदको नाम सुनाए । गिरिबन्धुको विषयलाई लिएर संसदमा एमाले र कांग्रेस आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।