राष्ट्रपति पौडेल र कतारी 'राजा' थानीबीच ४० मिनेट वार्ता, के-के भयो कुराकानी ?

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न नेपाल आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको ४० मिनेटको छलफलमा उनले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेल र कतारी 'राजा' थानीबीच ४० मिनेट वार्ता, के-के भयो कुराकानी ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न नेपाल आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको ४० मिनेटको छलफलमा उनले यस्तो बताएका हुन् । मंगलवार साँझ राष्ट्रपति भवन शीतल निवासमा दुवैको द्विपक्षीय भेटवार्ता भएको थियो । 'आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हाम्रो हिमाललाई कसरी जोगाउने, पानीको स्रोत कसरी बचाउने र वातावरण सन्तुलन कसरी राख्ने भन्ने नै हो, यसमा सबैको सहकार्य हुन जरुरी छ, यो मानव अस्तित्वको विषय छ, विशेष गरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भीर हुनुपर्छ भन्ने म ठान्दछु,' राष्ट्रपति पौडेलले भने । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन पनि आग्रह गरेको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । जोशी गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी बेपत्ता भएका छन् । यसबारे राष्ट्रपति पौडेलको चासो सम्बोधन गर्दै कतारका अमिरले विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताएका थिए । राष्ट्रपति पौडेलले यस क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनःस्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए । छलफलका क्रममा कतारका अमिरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताहरूको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद् वातावरण तयार हुने बताए । अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरू पहिचानका लागि यो भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । उनले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गरेका थिए । उनले दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरूमा लगानीको नयाँ सम्भावनाहरू बढाउन सकिने विश्वास व्यक्त गरे । दुई मुलुकबीच नियमितरूपमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान हुने परम्परा रहिआएको र यसबाट द्विपक्षीय सम्बन्धको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक भ्रमणले नेपाल र कतारको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताएका थिए । छलफलमा कतारी अमिरले कतारमा नेपाली श्रमिकलाई अझ राम्रो क्षेत्रमा रोजगारी दिने विषयमा योजना बनिरहेको उल्लेख गरे ।