बुर्तिबाङमा मेयर कप प्रोफेसनल आइटीएफ प्रतियोगिता शुरू

खेलकुद क्षेत्रलाई राज्यले अवहेलना गरेका कारण खेलाडीमा लुकेर रहेको प्रतिभा प्रस्फुटनमा अवरोध भइरहेको बताउँदै तीनवटै तहका सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।

बुर्तिबाङमा मेयर कप प्रोफेसनल आइटीएफ प्रतियोगिता शुरू
छबिलाल पाण्डे, बुर्तिबाङ । बागलुङको ढोरपाटनमा दुई दिने मेयर कप प्रोफेसनल आइटीएफ तेक्वान्डो राष्ट्रिय प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ । बागलुङ जिल्ला आईटिएफ तेक्वान्डो संघको आयोजनामा ढोरपाटन नगरपालिका -१ बुर्तिबाङमा दुई दिने मेयर कप प्रोफेसनल आइटीएफ तेक्वान्डो राष्ट्रिय प्रतियोगिता शुक्रबारदेखि शुरु भएकाे हाे । शुरू प्रतियोगितामा सात प्रदेश, ३ विभागीय र १ आयोजक गरी ११ टिमको सहभागीता रहेको छ । शुक्रबारदेखि शुरु भएको कार्यक्रमको प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै पौडेलले खेल क्षेत्रको विकासले समग्र राष्ट्रको विकास हुने बताए । पछिल्लो समय खेल क्षेत्रमा नेपालले प्रगति गरेको बताउँदै सांसद पौडेलले तीनै तहका सरकारले खेलकुदमा बजेटको  प्रर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धनबहादुर कायतले खेलकुद क्षेत्रमा ढोरपाटन अगाडी रहेको बताउँदै खेलकुद स्वास्थ्यका लागि र राष्ट्रका लागि पनि महत्वपूर्ण रहेको बताए । खेलकुद क्षेत्रलाई राज्यले अवहेलना गरेका कारण खेलाडीमा लुकेर रहेको प्रतिभा प्रस्फुटनमा अवरोध भइरहेको बताउँदै तीनवटै तहका सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । प्रतियोगितमा ४४ बिजेता खेलाडीले दुई स्वर्ण, ट्रफि र नगद पुरस्कार प्राप्त गर्नेछन् । महिला र पुरुष दुबै तर्फको च्याम्पियन हुनेले ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।