विराटनगरमा दुई पक्षबीच झडप

बुधबार दिउँसो रानी क्षेत्रमा रामनवमीको अवसरमा युवाहरुको एक समूहले मोटरसाइकल र्‍याली विराटनगरको १५ र १७ नम्बर वडास्थित मुस्लिम बस्तीतर्फ प्रवेश गर्ने क्रममा झपड भएको प्रहरीले जनाएको छ ।

विराटनगरमा दुई पक्षबीच झडप
काठमाडौं । राम नवमीका अवसरमा निकालिएको र्‍यालीमा अवरोध सिर्जना भएपछि विराटनगरको सीमा क्षेत्र रानीमा झडप भएको छ । बुधबार दिउँसो रानी क्षेत्रमा रामनवमीको अवसरमा युवाहरुको एक समूहले मोटरसाइकल र्‍याली विराटनगरको १५ र १७ नम्बर वडास्थित मुस्लिम बस्तीतर्फ प्रवेश गर्ने क्रममा झपड भएको प्रहरीले जनाएको छ । विराटनगर–१५ स्थित रामजानकी मन्दिर र विराटनगर–१३ को नहर चोकबाट हिन्दु सम्राट नेपाल मोरङका अध्यक्ष बलराम यादवको नेतृत्वमा दिउँसो र्‍याली निकालिएको थियो । उक्त र्‍याली मुस्लिम बस्तीमा पुगेपछि तनाव सुरु भएको प्रहरीको भनाइ छ । मोटरसाइकल र्‍यालीलाई विराटनगर–१५ मा केही स्थानीयले रोक्ने प्रयास गर्दा दुई समूहबीच केहीबेर ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठी चार्जसँगै हवाई फायर र आश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । सोही क्रममा पाँच जना प्रहरी घाइते भएका छन् । उनीहरुको अवस्था हाल समान्य रहेको बताइएको छ । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गर्नुपरेको मोरङ प्रहरी प्रमुख कार्कीले बताए । त्यसैगरी हाल घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरि स्थित नियन्त्रणमा लिइएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।