नाउपामा विवाद : संसदीय दलको नेताबाट हटाइएका चौधरी निलम्बनमा

चार दिनअघि मात्रै नागरिक उन्मुक्ति पार्टीका अर्का प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई फिर्ता बोलाइएको सम्बन्धी सूचना प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको थियो । गिरी समानुपातिक कोटाबाट निर्वाचित भएकी थिइन् । प्रत्यक्ष चुनावबाट निर्वाचित चौधरी नाउपा संसदीय दलका नेता थिए ।

नाउपामा विवाद : संसदीय दलको नेताबाट हटाइएका चौधरी निलम्बनमा
सुदूरपश्चिम । नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित घनश्याम चौधरीलाई उनको पार्टीले निलम्बन गरेको छ । चौधरीलाई निलम्बन गरिएको सम्बन्धी पत्र प्रदेशसभा सचिवालयमा पठाइएको छ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीलाई सम्बोधन गरी पठाएको पत्रमा प्रदेशसभा सदस्य चौधरी बैठकमा उपस्थित नभएको र उनीबाट अध्यक्षलाई पठाइएको स्पष्टिकरण पत्र चित्त बुझ्दो नभएकाले पार्टीको अन्तरिम विधान बमोजिम केन्द्रीय कमिटीको आज बसेको बैठकको निर्णय अनुसार निजलाई तीन महिना निलम्बन गरिएको व्यहोरा जानकारी गराइएको छ । चार दिनअघि मात्रै नागरिक उन्मुक्ति पार्टीका अर्का प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई फिर्ता बोलाइएको सम्बन्धी सूचना प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको थियो । गिरी समानुपातिक कोटाबाट निर्वाचित भएकी थिइन् । प्रत्यक्ष चुनावबाट निर्वाचित चौधरी नाउपा संसदीय दलका नेता थिए । पार्टीमा उत्पन्न किचलोका बीच पार्टीका केन्द्रीय अध्यक्षद्वारा नाउपा, सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेताबाट चौधरीलाई हटाएर कैलाश चौधरीलाई दलको जिम्मेवारी तोकिएको जानकारी दिइएको थियो । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले नेतृत्व गरेको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष श्रेष्ठबीच मतभेद सृजना हुँदा पार्टीका प्रदेशसभा सदस्यहरु पनि सरकारको पक्ष र विपक्षमा विभाजित भएका थिए ।