आज प्रतिनिधिसभा बैठक, यस्तो छन् सम्भावित कार्यसूची

बैठकमा प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति लामिछाने, प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापालगायतका नेताहरू थिए।

आज प्रतिनिधिसभा बैठक, यस्तो छन् सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ। आज बिहान ११ बजे बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ। हिजो बसेको बैठक सुरुहुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणबारे छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै सदन अवरुद्ध गरेको थियो। आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक समितिको प्रतिवेदन, २०८० पेस गर्नेछन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यक्रम छ । यसैगरी, अर्थमन्त्री वर्षमान पुनले बैँक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । हिजोको बैठकमा कांग्रेसका सांसदहरू उठेसँगै सत्तारूढ दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसदहरूले पनि उठेर बैठक अवरोध गरेका थिए। बैठक अवरोध भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि उनी दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटे पनि उक्त छलफलमा सहमति हुन सकेन। सहमति नजुटेपछि सूचना टाँसेर आज ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो। संसदको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा मंगलबार बिहान बालुवाटारमा बसेको बैठकमा सहमति जुट्न सकेको थिएन। बैठकमा प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति लामिछाने, प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापालगायतका नेताहरू थिए। कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन अडान राखिराख्दा एमाले, रास्वपा, माओवादी केन्द्र छानबिन समिति बनाउन नसकिने अडानमा रहेका थिए। उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछाने, उपाध्यक्ष एवम् श्रममन्त्री डोरप्रसाद आर्याल लागेको सहकारी ठगीको आरोपमाथि छानबिन गर्न विपक्षी कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न निरन्तर माग गरे पनि सत्तापक्षीय दलहरू त्यसका लागि तयार भएका छैनन्।