काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीचको शक्ति संघर्ष खासगरी सुदूरपश्चिम प्रदेशमा छताछुल्ल भएको छ। नेपाली कांग्रेस नेतृत्वको गठबन्धनकै पक्षमा रहेका रेशम र नयाँ गठबन्धनलाई साथ दिनुपर्ने अडानमा रहेकी रञ्जिताबीचको विवाद झन् झन् चुलिँदो हो।
सोमबार मात्रै सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना सोमबार टाँसेका थिए ।
नाउपा अध्यक्ष रञ्जिताले गत चैत २१ गते पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रहेकी गिरीलाई कारबाही गरेकी थिइन् ।
उनले गरेको कारबाहीलाई मान्यता दिँदै गिरीको सांसद पद गएको सूचना सोमबार प्रदेश सभा सचिवालयमा टाँसिएको छ। गिरीले सांसद पद गुमाएकै दिन सोमबार नाउपा संसदीय दलका नेता घनश्याम चौधरी पनि कारबाहीमा परेको पत्र सार्वजनिक भएको छ ।
नाउपा प्रदेश सभामा संसदीय दलका नेता घनश्याम चौधरीलाई रञ्जिताले हटाइदिएकी छन् । घनश्यामलाई दलको नेताबाट हटाएर अर्का सांसद कैलाश चौधरीलाई जिम्मेवारी दिइएको छ ।
घनश्याम कांग्रेसबाट मुख्यमन्त्री बनेका कमल शाह नेतृत्वको सरकारका आर्थिक मामिला मन्त्रीसमेत हुन्। उनी रेशमलाई साथ दिएर मन्त्री बनेका हुन्।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेकी हुन् ।
अध्यक्ष चौधरीले केन्द्रीय समितिको बैठकको निर्णयलाई टेकेर यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा दलको निर्देशन पालना नगरेको जनाएकी छन्।
अब उनलाई हटाएर सुदूरपश्चमिमा कैलाश चौधरीलाई संसदीय दलको नेताका काम गर्ने जिम्मेवारी तोक्ने निर्णय गरिएको रञ्जिताले जनाएकी छन्।
सुदूरपश्चिममा नाउपाका ७ सांसद छन्। जसमा ५ जना रेशम पक्षमा र २ जना रञ्जिताको पक्षमा उभिएका छन्। रञ्जिताले अब प्रदेशमा आफ्नो पक्षमा बहुमत जुटाउने कसरत थालेकी छन्।
नाउपा : संसदीय दलको नेता घनश्याम चाैधरीको जिम्मेवारी खोसियो
अध्यक्ष चौधरीले केन्द्रीय समितिको बैठकको निर्णयलाई टेकेर यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा दलको निर्देशन पालना नगरेको जनाएकी छन्।

