आज घोडेजात्रा, उपत्यकामा सार्वजनिक बिदा

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे।

आज घोडेजात्रा, उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । घोडेजात्रा पर्व सोमबार मनाइँदैछ। घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। घोडेजात्रा प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाउने गरिन्छ। जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्ने गर्छ। टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहन्छ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो जनविश्वास छ।