धरान । प्रहरीले सुमना श्रेष्ठको हत्या आरोपमा धरानउपमहानगरपालिका–१६ बस्ने १९ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बिपिन रेग्मीले हत्याका आरोपी भुजेललाई धनकुटाको मुलघाटबाट पक्राउ गरिएको जानकारी दिए ।
उनले प्रेम सम्बन्धलाई लिएर आफ्नै प्रेमीबाट श्रेष्ठको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुसन्धानबाट खुल्न आएकोे बताए । उनका अनुसार हत्या गरिएकी श्रेष्ठ र हत्या आरोपी भुजेलबीच दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको अनुसन्धानका क्रममा देखाएको छ । तर गत पुसदेखि श्रेष्ठसंग सम्बन्ध बिग्रिएपछि आरोपी भुजेलले योजनाबद्धरूपमा श्रेष्ठको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रउ रेग्मीले पत्रकार सम्मेलनमा बताए ।
प्रहरीले श्रेष्ठको हत्यामा प्रयोग भएको धारिलो हतियार खुकुरीसमेत सार्वजनिक गरेको छ । यही चैत ६ गते राति हत्या गरी धरान–१८ स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचको खोल्सामा फालिएको अवस्थामा श्रेष्ठको शव फेला परेको थियो ।
के कारण भयो सुमनाको हत्या ?
उनीहरू प्रेम सम्बन्धमा रहेकै बेलामा गत पुदेखि सुमनाले धरानस्थित ग्लोब्लोरिन्समा काम गर्न थालेपछि त्यहीँ काम गर्ने प्रदीप श्रेष्ठसँग उनको चिनजान भएको खुलेको छ।
सुमना र प्रदीप एकआपसमा नजिक हुन थालेपछि फेसबुक आइडीसमेत एउटै चलाउने गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ।
आफूसँग प्रेममा रहेकी सुमना अर्कैसँग सम्बन्धमा रहेपछि बाबुराम रिसाएका थिए। प्रदीपसँगको सम्बन्ध थाहा पाएपछि बाबुराम टाढिएका थिए। त्यहीकारण बाबुराम र सुमनाको सम्बन्धमा चिसोपना आएका कारण यो घटना हुन पुगेको भण्डारीले बताए।
सुमनासँगको सम्बन्धमा चिसोपना आएपछि बाबुराम काम गर्ने सिलसिलामा धनकुटाको मूलघाटमा बस्दै आएका थिए। त्यसपछि सुमनासँगको प्रेम सम्बन्धमा झनै चिसोपना आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सुमनासँग सम्बन्धमा समस्या आइरहेका बेला बाबुराम यही मंगलबार धरान झरेका थिए। उनले धरान झरेर सुमनासँग भेट पनि गरे।
त्यसपछि उनले सुमनालाई आफ्नै स्कुटरमा राखी चलाउन सिकाउन लगेको खुलेको छ। स्कुटर चलाउन सिकाउँदै लाने क्रममा बाबुरामले घोपा क्याम्प र डिपोट स्कुलको बीचमा लगेर सुमनाको हत्या गरेको भण्डारीले बताए। उनका अनुसार मंगलबार राति ९ बजेको समयमा उनीहरूबीच सुमनाको फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएको खुलेको छ।
सुमनाले आफ्नो फेसबुक प्रदीपलाई चलाउन दिएको कुरामा रिसाएका बाबुरामले त्यो दिन उनको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ।
'बावुराम भुजेलले योजनाअनुसार नै साथमा लिएर गएको खुकुरी निकाली सुमना श्रेष्ठको घाँटी रेटी हत्या गरेको देखियो,' भण्डारीले भने, 'रातको समयमा सुमनाको हत्या गरेपछि उनी खुकुरीसमेत त्यहीँ फ्याँकेर रातारात भागेर धनकुटा पुगेछन्।'
सुमनाको शव बुधबार दिउँसो २ बजे स्थानीयले घोपा क्याम्प र डिपोट स्कुलबीच खोल्सामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
फेसबुक अर्कैले चलाएपछि प्रेममा दरार : स्कुटरमा लगेर सुमनाको हत्या
आफूसँग प्रेममा रहेकी सुमना अर्कैसँग सम्बन्धमा रहेपछि बाबुराम रिसाएका थिए। प्रदीपसँगको सम्बन्ध थाहा पाएपछि बाबुराम टाढिएका थिए। त्यहीकारण बाबुराम र सुमनाको सम्बन्धमा चिसोपना आएका कारण यो घटना हुन पुगेको भण्डारीले बताए।

