प्रभु बैंकका अपरेशन इन्चार्जलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइयो

उनी माघ २१ गतेदेखि सम्पर्कविहीन थिए । त्यसपछि शाहले आफूहरूलाई ठगी गरेको भन्दै पीडितले जाहेरी दिएका थिए। त्यसैका आधारमा शाहविरूद्ध बैंक स्वयमले किटानी जाहेरी दिएको थियो।

प्रभु बैंकका अपरेशन इन्चार्जलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइयो
काठमाडौं । रूकुम पश्चिमको प्रभु बैंक आठबिसकोट शाखामा एक करोड बढी आर्थिक अनियमितता गरी फरार भएका अपरेसन इञ्चार्ज निरजविक्रम शाहलाई छिमेकी देश भारतमा पक्राउ गरेपछि नेपाल ल्याइएको छ। उनी माघ २१ गतेदेखि सम्पर्कविहीन थिए । त्यसपछि शाहले आफूहरूलाई ठगी गरेको भन्दै पीडितले जाहेरी दिएका थिए। त्यसैका आधारमा शाहविरूद्ध बैंक स्वयमले किटानी जाहेरी दिएको थियो। बैंकका कर्णाली प्रदेश कार्यालय इञ्चार्ज शरद तिमिल्सिनाले शाहविरूद्ध बैंकिङ कसुर मुद्दामा अपरेसन इञ्चार्ज शाहविरूद्ध एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन तथा दुरूपयोग गरेको भन्दै बैंकको तर्फबाट किटानी जाहेरी दिएका थिए। एक उच्च प्रहरी स्रोतका अनुसार बैंकका अपरेसन इञ्चार्ज शाह गोवाबाट पक्राउ परेका हुन्। ‘हामी पुग्दा बैंकका अपरेसन इञ्चार्जले होटलमा टेबुल पुछ्दै थिए,’ स्रोतले भन्यो, ‘हामीलाई चिनेपछि उनी धरधरी रोएका थिए।’ भारतीय प्रहरीको सहयोगमा शाहलाई गोवा हुँदै हवाई जहाजबाट लखनउ ल्याइएको थियो। लखनउबाट उनलाई ट्याक्सी रिजर्भ गरी नेपाल ल्याइएको हो। शाहले प्रयोग गरेको मोबाइल ट्रेस गरी प्रहरीले उनी बस्दै आएको ठाउँ पत्ता लगाउन सफल भएको प्रहरी उच्च स्रोतले बतायो।