दीपेश पुनलाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पोखराको सूर्य दर्शन सहकारीका सञ्चालक कुमार रम्तेल र आईटी प्रमुख भविश्वर अर्यालसँगको बयानका आधारमा प्रहरीले पुनलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरेको थियो । रम्तेल र अर्याललाई पनि अनुसन्धानको लागि प्रहरीले रुपन्देही झिकाउने भएको छ ।

दीपेश पुनलाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं । सुन तस्करी र सुप्रिम सहकारीमा बचतकर्ताको रकम अनियमितता गरेको आरोपमा पक्राउ परेका दीपेश पुनमाथि अनुसन्धान गर्न प्रहरीले ८ दिनको म्याद पाएको छ ।​​ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले ८ दिनको अनुमति दिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख एसपी रञ्जित राठोरले जानकारी दिए ।​ पोखराको सूर्य दर्शन सहकारीका सञ्चालक कुमार रम्तेल र आईटी प्रमुख भविश्वर अर्यालसँगको बयानका आधारमा प्रहरीले पुनलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरेको थियो । रम्तेल र अर्याललाई पनि अनुसन्धानको लागि प्रहरीले रुपन्देही झिकाउने भएको छ । बुटवलको राजमार्ग चौराहास्थित सुप्रिम सहकारीको एक अर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा सुप्रिम सहकारीका हालका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डे यस अघि नै पक्राउ परिसकेका छन् । सहकारीका ५ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धानलाई अघि बढाएको एसपी राठोरले जानकारी दिए ।​​ गितेन्द्रबाबु (जीबी) राईले बुटवलमा सञ्चालन गरेको सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले यसअघि नै निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालयमा सहकारी सञ्चालकले १० हजार ३९१ जना बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ अपचलन गरेको उजुरी परेको छ ।