प्रचण्डलाई विश्वासको मत नदिए देश दुर्घटनामा जान्छ : केपी ओली

नयाँ सत्ता समीकरण सकारात्मक भएको बताएका ओलीले एमालेको लागि समीकरण सबैभन्दा राम्रो विकल्प होकि होइन भन्नेतर्फ अहिले नगई जसरी पनि दाहाललाई विश्वासको मत प्राप्त गर्न सफल बनाउनुपर्नेमा जोड दिए ।

प्रचण्डलाई विश्वासको मत नदिए देश दुर्घटनामा जान्छ : केपी ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिए देश दुर्घटनामा जाने बताएका छन् । मंगलबार संसद भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले ह्विपकै रुपमा आफ्नो निर्देशन मानेर सबै सांसदलाई दाहाललाई विश्वासको मत दिन निर्देश दिएका हुन् । उनले दाहाललाई विश्वासको मत नदिए देश ठूलो दुर्घटनामा जाने समेत जिकिर गरे । प्रधानमन्त्रीले विश्वासको मत नपाए नेपाली कांग्रेसले अल्पमतको सरकार बनाउने खतरा रहेको भन्दै उनले सबैलाई विश्वासको मत दिन ह्विप लगाए । नयाँ सत्ता समीकरण सकारात्मक भएको बताएका ओलीले एमालेको लागि समीकरण सबैभन्दा राम्रो विकल्प होकि होइन भन्नेतर्फ अहिले नगई जसरी पनि दाहाललाई विश्वासको मत प्राप्त गर्न सफल बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिलेको यो परिवर्तन सकारात्मक छ । यसैलाई अगाडि बढाउनुपर्छ । यो असफल हुनु भनेको देश ठूलो असफलतामा जानु हो । एमालेका लागि यो बेस्ट अप्सन होकि होइन भन्ने कुरा छोडिदिउँ, यतिबेला अर्को कुनै विकल्प छैन । कि प्रचण्डको नेतृत्वमा बनेको समीकरणले जित्छ । नत्र संविधानको धारा ७६ को उपधारा ३ अनुसार नेपाली कांग्रेसको भोलि अल्पमतको सरकार बन्छ । दुइवटा मध्ये एउटा कुरा हुन्छ ।’ कांग्रेसको सरकार बने देश दुर्घटनामा जाने र त्यसो हुनबाट रोक्नुपर्ने भन्दै अध्यक्ष ओलीले थपे, ‘हामी सबै उत्साहको साथ मतदान गर्नेछौं । कमरेडहरुलाई निर्देशन नै हो ।’ नयाँ सत्ता समीकरण सरकारमा जाने हतारोले नबनेको बताएका उनले तत्कालिन गठबन्धन ‘खरानीको डल्लो’ भएको र त्यसलाई आफूले फुटाइदिएको बताए । ‘गठबन्धनमा हुनेहरूको उन्माद थियो । यो खरानीको डल्लो अमर छ, तोडफोड नै हुन नसक्ने कुरा थियो । खरानीको डल्लो फुट्नुपर्थ्यो,’ उनले भने । ओलीले सरकार परिवर्तन एमालेले नै गरेको र जस पनि आफैंले पाउनुपर्ने भन्दै उक्त विषयमा चीनलाई बीचमा नल्याउन आग्रह गरे ।