बागलुङ र पर्वत जोड्ने नयाँ झोलुङ्गे पुल सञ्चालनमा

लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाका रुपमा परिचित बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि नै पाँच सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ ।

बागलुङ र पर्वत जोड्ने नयाँ झोलुङ्गे पुल सञ्चालनमा
बागलुङ । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८ ओडारे जोड्ने गरी जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाका रुपमा परिचित बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि नै पाँच सय ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण भइसकेको छ । ७ करोड रुपैयाँ लागतमा उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको बागलुङ–४ का वडा अध्यक्ष कुमारविक्रम क्षत्रीले जानकारी दिए । ‘पुलबाट वारिपारि गर्न थालेको चार दिन भयो । निर्माण सम्पन्न भएपनि औपचारिक उद्घाटन भने भएको छैन’, उनले भने, 'पुल बनेपछि बागलुङ बजारको समृद्धिसँग पर्वतको जलजला पनि जोडिएको छ । यसअघि यहाँका नागरिक आउजाउ गर्न एक डेढ घण्टा लाग्नेमा अब १० मिनेट लाग्नेछ ।' दुई वर्षमा निर्माण सक्ने गरी विसं २०७९ जेठमा सम्झौता भई विसं २०७९ साउनदेखि निर्माण सुरु भएकामा डेढ वर्षमा काम सकिएको निर्माण पक्ष हिम शिखर कन्स्ट्रक्सनले जनाएको छ । पुल हस्तान्तरणको तयारी भइरहेको कम्पनीका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । निर्माणका लागि बजेट व्यवस्थापन भने सस्पेन्सन ब्रीज डिभिजन कार्यालय काठमाडौंले गरेको थियो । बागलुङ बजारलाई पर्वतको जलजलासँग जोड्दा यहाँको व्यापार व्यवसाय बढ्ने छ भने जलजलाका स्थानीयलाई घण्टौ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्था अन्त्य भएको छ । जलजलाबाट बागलुङ बजारको विद्यामन्दिरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी अभिषेक जिसीले आफूलाई हिँडेर यहाँ अध्ययन गर्न आउँदा डेढ घण्टा लाग्ने गरेको बताए । चार दिनदेखि पुलबाट आवतजावत गर्न थालेको भन्दै यसले समयको बचत भएको बताए । ‘यसअघि दैनिक आउजाउ गर्न सास्ती भएपछि कोठा लिएर ११ कक्षा पढेको थिएँ । पुल बन्न थालेपछि कोठा छोडेर घरबाटै आउन जान थालेकामा अहिले चार दिनदेखि सहज भएको छ । करिब १० मिनेटमा विद्यालय पुग्न सकिन्छ’, उनले भने ।