एमालेको प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल नियुक्त

यसअघि २०७९ पुसमा ४२ दिन स्वास्थ्य मन्त्री भएर बाहिरिएपछि गिरीलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा नियुक्त गरेका थिए।

एमालेको प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल नियुक्त
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको प्रमुख सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेको छ। वर्तमान प्रमुख सचेतक पदम गिरी सोमबार बनेको नयाँ गठबन्धनबाट संघीय सरकारको मन्त्री भएपछि बर्तौलाको प्रमुख सचेतकमा बढुवा भएको हो। यसअघि २०७९ पुसमा ४२ दिन स्वास्थ्य मन्त्री भएर बाहिरिएपछि गिरीलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा नियुक्त गरेका थिए। तर फेरि वाम गठबन्धन ब्युँतिदा गिरी मन्त्रीमा दोहोरिएका छन्। गिरीको स्थान बर्तौलाले लिँदा एमाले सचेतकमा समानुपातिक सांसद सुनिता बरालले अवसर पाएकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट उनी समानुपातिक प्रणालीबाट सांसद भएकी थिइन्। सुनिता अनेरास्ववियुको अध्यक्ष हुँदा बर्तौला उपाध्यक्ष थिए। प्रतिनिधिसभाको प्रमुख सचेतक बनाएका बर्तौला एमालेमा बौद्धिक युवा नेताका रुपमा परिचित छन्। उनले २०७९ को चुनावमा मकवानपुर क्षेत्र नम्बर २ मा आफ्नै गुरु एवम् नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई हराएका थिए।