अबको दुई वर्षपछि प्रधानमन्त्रीमा केपी ओली

पोहोर पुस १० गते माओवादी अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए। त्यतिबेला ओली र प्रचण्डका बीचमा साढे २ वर्ष साढे २ वर्ष प्रधानमन्त्री हुने सहमति भएको थियो।

अबको दुई वर्षपछि प्रधानमन्त्रीमा केपी ओली
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधा आधा बाँड्ने सहमति भएको छ । कांग्रेससहितको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउँदा प्रचण्ड र ओलीबीच यो सहमति भएको हो । पोहोर पुस १० गते माओवादी अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए। त्यतिबेला ओली र प्रचण्डका बीचमा साढे २ वर्ष साढे २ वर्ष प्रधानमन्त्री हुने सहमति भएको थियो। तर दुई महिनामै प्रचण्डले गठबन्धन फेरेर कांग्रेसको साथ लिएपछि एमालेले सरकार छोडेको थियो। एमाले सरकारबाट बाहिरिएको एक वर्षपछि फेरि प्रचण्ड सँगको पुरानो गठबन्धन ब्युँत्याएर सरकारमा सहभागी हुने निर्णय गरेको हो। एमाले सहितका मन्त्रीहरूले आजै शपथ लिँदैछन्। प्रचण्ड र ओलीबीच नयाँ सहमति भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने च्याप्टर भने अब बन्द भएको छ। माओवादीले समाजवादीलाई गठबन्धनमै रहन आग्रह गर्ने निर्णय गरे पनि प्रधानमन्त्री दिन भने तयार छैन। एमालेका एक नेताका अनुसार ओली पनि नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन बनाएर जाने कुरामा सकारात्मक छन्।