संसद् भवनभित्र प्रवेश गरेका ४९ जना लघुवित्त ऋणीलाई प्रहरीले हाजिरी जमानीमा छाड्यो

नयाँ बानेश्वरस्थित संसद् भवनभित्रै प्रवेश गरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।

संसद् भवनभित्र प्रवेश गरेका ४९ जना लघुवित्त ऋणीलाई प्रहरीले हाजिरी जमानीमा छाड्यो
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनभित्रै प्रवेश गरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ । सोमबार नाराबाजी गर्दै संसद् भवनभित्रै प्रवेश गरेका एक जना पुरूष र ४८ जना महिलालाई जमानीमा छाडेको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । म्याद थपेर उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो । यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । गत सोमबार लघुवित्त ऋणीहरू नाराबाजी गर्दै संसद् भवनभित्रै प्रवेश गरेका थिए । घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिसमते गठन गरिएको थियो । साथै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लघुवित्त पीडितहरूलाई मुद्दा चलाउनु बेठिक हुने भन्दै उनीहरूलाई बिना शर्त रिहा गर्न गृहमन्त्रीलाई आग्रह गरेको थियो ।