धनगढीका लागि उडेको १० मिनेटमै श्री एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरूका अनुसार दिनहुजसो साना तिना घटनाहरू हुने गरेका छन् । केही दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा बुध्द एयरको विमान पोलमा ठोक्किएको थियो ।

धनगढीका लागि उडेको १० मिनेटमै श्री एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण
काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको विमानमा गम्भीर समस्या देखिएको छ । शुक्रबार बेलुका ७ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीतर्फ उढेको १० मिनेटमै विमानमा समस्या देखिएको हो। चितवनमाथीको आकाशमा विमान पुग्दा तेल तापक्रम उच्च बिन्दुमा पुगेको जानकारी इन्डिकेटरले दिएपछि पाइलटले विमानलाई काठमाडौं फिर्ता ल्याउन अप्रोच कन्ट्रोलसँग अनुमति मागेका थिए । उडानका क्रममा तेल तापक्रम उच्च हुँदा इन्जिन फेल हुन सक्ने जोखिम भएकाले पाइलटले धनगढीसम्म उडान गर्नु भन्दा काठमाडौंमै विमान फिर्ता ल्याउने निर्णय गरेको जानकारहरू बताउँछन् । काठमाडौं टावरले अनुमति दिएपछि उडान नम्बर एसएचए २२७ को श्री एयरलाइन्स विमान ७ बजेर ५१ मिनेटमा काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफ्नो कार्यकालमा उडान सुरक्षा उल्लेख्य सुधार गरेको दाबी गर्दै आएपनि पछिल्लो समय उडान सुरक्षा प्रतिकुल हुने घटना बढीरहेका छन् । शुक्रवार बिहान एयर डाइनेस्टीको हेलिकप्टरमा समस्या देखिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरूका अनुसार दिनहुजसो साना तिना घटनाहरू हुने गरेका छन् । केही दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा बुध्द एयरको विमान पोलमा ठोक्किएको थियो । महानिर्देशक अधिकारीले विमानस्थलको टावर, एप्रोच, एरिया कन्ट्रोल तथा ब्रिफ्रिङमा कार्यरत एयर ट्राफिक कन्टोलरलाई विमानस्थल भित्र हुने सानातिना घटना तथा दुर्घटनाको जानकारी बाहिर चुहाएको थाहा पाए कडा कारबाही गर्ने चेतावनी दिएपछि पछिल्लो समय विमानस्थल भित्र घट्न घटना बाहिर आउने क्रम रोकिएको छ ।