काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनकी शिशु चोरेको आरोपमा पक्राउ परेकी महिलाको कुनै सन्तान नरहेको खुलेको छ।
शुक्रबार दिउँसो उक्त अस्पताल कम्पाउन्डबाट चोरिएको शिशुसहित काठमाडौंको काँडाघारीबाट पक्राउ परेकी २४ वर्षीया मनकुमारी सिंहको बिहे भएको ३ वर्षसम्म पनि बच्चा नभएको पाइएको हो।
हाल काठमाडौं काँडाघारी बस्ने उनको घर दैलेख जिल्लाको नौमुले गाउँपालिका–१, अवलतोली हो। त्यहाँका स्थानीयका अनुसार मनकुमारी स्थानीय २८ वर्षीय नरेन्द्र मल्लकी पत्नी हुन्। मल्ल काठमाडौंमै नेपाली सेनामा कार्यरत छन्।
‘उनीहरूले विवाह गरेको ३ वर्ष भयो’, ती स्थानीयले भने, ‘तर अहिलेसम्म बच्चा भएको छैन।’ मनकुमारीको माइतीघर पनि दैलेखकै महाबु गाउँपालिका–६, रानीवन भएको ती स्थानीयले बताए । बच्चा चोरी काण्डमा प्रहरीले मनकुमारीका श्रीमान् र दिदी शारदा शाहीलाई पनि नियन्त्रणमा लिएको छ।
शुक्रबार (फागुन ११) दिउँसो काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ३ घर भई हाल काठमाडौंको कपन बस्ने २२ वर्षीया सबिना श्रेष्ठ आफ्नी २६ दिनकी छोरी लिएर उपचारका लागि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुगेकी थिइन्। त्यस क्रममा अस्पताल कम्पाउन्डभित्र छोरी बोकेर बसेकी उनलाई एक अपरिचित महिलाले बच्चा एकछिन बोक्न मागिन् र बच्चा लिएरै फरार भइन्। त्यसपछि सबिनाले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी गरिन्।
प्रहरीले सीसीटीभी फुटेजमा देखिएको तस्बिरका आधारमा शिशुसहित ती महिला (मनकुमारी)लाई शुक्रबार राति नै काँडाघारीबाट पक्राउ गरेको हो। साथै उनका श्रीमान् नरेन्द्र र दिदी शारदालाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
बच्चा चोरी प्रकरण : पक्राउ परेका सैनिक दम्पत्ति भएको खुलासा
शुक्रबार दिउँसो उक्त अस्पताल कम्पाउन्डबाट चोरिएको शिशुसहित काठमाडौंको काँडाघारीबाट पक्राउ परेकी २४ वर्षीया मनकुमारी सिंहको बिहे भएको ३ वर्षसम्म पनि बच्चा नभएको पाइएको हो।

