प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले आज पनि विरोध गर्ने

प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ।

प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले आज पनि विरोध गर्ने
प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणाले राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। तर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले )ले संसदमा आज पनि विरोध जनाउने भएको छ। बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले टेरामक्स प्रकरणमा मुछिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग्ने निर्णय गरेको छ। त्यसका लागि सदनमा सशक्त विरोध गर्ने निर्णय पनि गरेको छ। बिहीबारको बैठकमा बोल्दै सांसद रघुजी पन्तले विवादमा मुछिएका मन्त्रीहरूको राजीनामा नआए एमाले टुलुटुलु हेरेर नबस्ने बताएका थिए। उनले झन्डा हल्लाउँदै मन्त्री अख्तियारमा बयान दिन जानु लाजमर्दो दृश्य भएको बताएका थिए। एमाले प्रमुख सचेतक पदम गिरीले सदनमा शुक्रबार पनि विरोध जारी रहने बताए। उनले बालकुमारी घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, दोषी मन्त्रीलाई बर्खास्त गर्नुपर्ने बताए।